काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकासहित केही स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले बाजी मारेसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेको लहर चल्न लागेको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन कात्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने तयारी गरे पनि अहिलेसम्म मिति घोषणा गरेको छैन । संघ, प्रदेश र स्थानीय तहले बजेट ल्याएपछि असार अन्तिम साता निर्वाचन मिति घोषणा गर्ने सरकारी तयारी रहेका बेला विभिन्न पेसबाट अलग भएका व्यक्तिहरूले भने काठमाडौंमा उम्मेदवारी घोषणाको लहर सुरु हुन थालेको छ ।
कांग्रेस, एमाले, माओवादी बाहेकका दलबाट उम्मेदवार भएर जित्ने अवस्था नभएपछि ती दलसँग असन्तुष्ट मतलाई आफ्नो पक्षमा पार्नका लागि स्वतन्त्रको नाममा उम्मेदवारी दिने घोषणा सुरु भएको हो । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न स्वतन्त्र व्यक्तिहरूले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने गृहकार्यमा जुटेका छन् ।
काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट समाजका विभिन्न पक्षका व्यक्तिले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएका बेला सिंहले प्रतिनिधित्व गर्ने काठमाडौं–१ मा विवेकशीलबाट पुकार बम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सोभित उप्रेतीले उम्मेदवारी दिने भएका छन् ।
पार्टीभित्रैकै एउटा समूह सिहंको विपक्षमा देखिएका बेला वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पत्नी सिर्जना सिंहलाई महानगरपालिका प्रमुखको उम्मेदवार बनाएका थिए । तर, परिणाम आफ्नो पक्षमा पार्न सिंह असफल भए । त्यसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीभित्रैबाट असहयोग हुने आकलन गरिएका बेला प्रमुख प्रतिपक्षी एमाले, राप्रपासहित अन्य स्वतन्त्र समूहले पनि सोही क्षेत्रलाई लक्षित गर्दै उम्मेदवारीको तयारीमा जुटेका छन् ।
२०७४ निर्वाचनमा सिंहले १० हजार ९ सय ३६ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्र्धी तत्कालीन साझा पार्टीका रवीन्द्र मिश्रले १० हजार १ सय १८ मत पाएका थिए ।
स्थानीय निर्वाचनमा काठमाडौं महानगरबाट राम्रो मत हासिल गरेका सुमन सायमीले पनि संघीय निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । उनी काठमाडौंको कुन क्षेत्रबाट चुनाव लड्ने भन्ने चाहिं निक्र्योल भइसकेको छैन । विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले पनि प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौं क्षेत्र नम्बर ६ बाट गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका श्रेष्ठले पार्टीको तर्फबाट वा स्वतन्त्र रूपमा भए पनि उम्मेदवारी दिने बताएका छन् ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पुत्री मानुषी भट्टराईले पनि काठमाडौंबाट उम्मेदवारी दिने घोषणा गरेकी छन् । जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन लागेकी उनले काठमाडौंको ५ वा ७ बाट उम्मेदवारी दिने तयारी गरेकी छन् । काभ्रे २ बाट फिल्म निर्देशक मनोज पण्डितले संघीय निर्वाचनमा उठ्ने घोषणा गरेका छन् । उनले पूर्वमन्त्री गोकुल बाँस्कोटाको विरुद्ध उम्मेदवारी दिने बताएका हुन् ।
संघ र प्रदेश निर्वाचनमा देशभर उम्मेदवार उठाउने विषयमा छलफल गर्नका लागि स्वतन्त्र व्यक्तिहरूको भेला डाकिएको छ । स्वतन्त्र उम्मेदवारहरूको पहिलो राष्ट्रिय भेला असार १७ र १८ गते काठमाडौंमा बोलाइएको छ । भेलामा सहभागी हुन र आर्थिक सहयोग गर्न छुट्टाछुट्टै क्यूआर कोडको व्यवस्था गरिएको छ । यस भेलाप्रति स्वतन्त्र उम्मेदवारी दिएकाहरूको नै मतैक्यता रहेको छैन । सामूहिक छलफल नगरी कुनै एक व्यक्तिले भेला बोलाउनुको अर्थ नहुने असन्तुष्ट पक्षको भनाइ छ ।





प्रतिक्रिया