देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज मध्यमर्स्याङदी, माथिल्लो मर्स्याङदी र न्यादीको विद्युत उत्पादन बन्द हुने

देशान्तर

काठमाडौं । आज तीन वटा जलविद्युत आयोजनाको विद्युत उत्पादन ठप्प हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङदी, ५० मेगावाटको माथिल्लो मर्स्याङदी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको हो । ती विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म विद्युत उत्पादन बन्द हुनेछ ।

गत वर्ष १९ असारमा आएको पहिरोले ढालेको मध्यमर्स्याङदी-मर्स्याङदी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द (सट डाउन) गरिएको हो । प्रसारण लाइन सट डाउन भएपछि उक्त लाइनमा जोडिएका विद्युतगृहबाट विद्युत उत्पादन बन्द हुने छ ।

पहिरोले मध्यमर्स्याङदी-मर्स्याङदी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका-८, माझीगाउँस्थित ९ नम्बर टावर ढालेको थियो । प्राधिकरणले आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) जडान गरी गत वर्षको २ साउनबाट प्रसारण लाइन सञ्चालनमा ल्याएको थियो ।

अहिले उक्त स्थानमा नयाँ टावर निर्माण गरिएको छ । आइतबार इआरएस हटाई नयाँ टावरमा तार टाँगिने छ । यसका लागि उक्त प्रसारण लाइन सट डाउन गरिने छ । यसबाट यस प्रसारण लाइनमा जोडिएका जलविद्युतगृहबाट उत्पादित विद्युत पनि बन्द हुने छ । करिब १५० मेगावाट विद्युत उत्पादन बन्द हुने भएपछि प्राधिकरणले वैकल्पिक व्यवस्था गरी उपभोक्तालाई विद्युत आपूर्ति गर्ने जनाइएको छ ।