देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसमा नीतिबिनाका नेता

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन पार्टी नेतृत्व चयन गरेको ६ महिना बित्दासमेत नीति महाधिवेशन हुन सकेको छैन । कोरोना भाइरसको संक्रमणका साथै आन्तरिक कारणले समयमा महाधिवेशन गर्न असफल बनेको कांग्रेसले पहिला नेता छान्ने र पछि नीति निर्माणका लागि फेरि नीति महाधिवेशन गर्ने बताएको थियो । नीति महाधिवेशन भनेर विधानमा व्यवस्था नभए पनि कांग्रेस महाधिवेशनपछिको शक्तिशाली निकायका रूपमा पार्टीको महासमिति बैठकलाई उल्लेख गरेको छ ।

महासमिति बैठकले नै पार्टीको विधानदेखि आगामी कार्यक्रम र नीतिहरूमा समयअनुसार परिवर्तन गर्न सक्दछ । तर, महाधिवेशन भएको ६ महिना बित्दा पार्टी सभापति शेरबहादुर देउवादेखि पदाधिकारी र सदस्यहरूले नीति महाधिवेशनका विषयमा चासो देखाएका छैनन् । पहिला नीतिको टुंगो लगाएर त्यसअनुसारको नेता छान्नुपर्ने हो तर कांग्रेसले पहिला नेता छानेर नीति निर्माण गर्ने जनाए पनि अहिलेसम्म त्यसमा चासो देखाएको छैन । जसले गर्दा कांग्रेसमा अहिले नेता छ नीति छैन भनेर आलोचनासमेत गर्न थालिएको छ ।

त्यतिमात्र होइन पार्टी विधानले महाधिवेशन भएको ६ महिनाभित्र सबै तहमा विभाग, समिति, विभिन्न निकायहरू गठन गरिसक्ने भनेको छ । तर, अहिलेसम्म कांग्रेसले केन्द्रीय समितलाई समेत पूर्णता दिन सकेको छैन । शुक्रबार मात्र उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा प्रशिक्षण विभाग गठन भए पनि अन्य विभागहरूले कहिले पूर्णता पाउँछन् अझै टुंगो लाग्न सकेको छैन । मुलुकभित्र मात्र होइन बाहिरसमेत लोकतान्त्रिक दलको छवि बनाए पनि पार्टी विधानको परिचालनामा कांग्रेस सधैँ कमजोर देखिँदै आएको छ । शक्तिशाली सभापतिका रूपमा दोस्रो कार्यकालको जिम्मेवारीमा पुगेका देउवाले यस पटक पनि पार्टीको विधि, विधानको परिपालनामा ध्यान दिन सकेका छैनन् भने अन्य पदाधिकारी र नेताहरूले पनि विधानको परिपालनामा खासै चासो देखाएका छैनन् । जसले गर्दा कांग्रेसभित्र नीति तथा कार्यक्रमसहित विधि, विधानका कुरा उठ्न छाडेका छन् ।

पार्टीका सबै नेताहरूको ध्यान आफू र आफ्ना मान्छेको व्यवस्थापनमा मात्र सीमित बन्न पुग्दा कांग्रेसका सबै सांगठनिक संरचनाहरू निकम्मा प्रायः बन्न पुगेको छ । १ सय ६८ जनाको केन्द्रीय समितिमा अहिलेसम्म कोषाध्यक्षसहित अझै २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । उपसभापति खड्का नेतृत्वमा प्रशिक्षण प्रतिष्ठान विभाग गठन भए पनि झन्डै चार दर्जन विभागहरूले कहिले पूर्णता पाउँछन् अझै निश्चित छैन ।

पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि गठन गर्नुपर्ने संसदीय समिति गठनै नगरी कांग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिकाहरूको उम्मेदवार छनोट गरिसकेको छ भने कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा आफैं नेतृत्वको सरकारले तयारी गरिरहेको छ । उक्त निर्वाचनमा उम्मेदवार टुंगो लगाउन पनि संसदीय समिति गठन गर्नुपर्ने हो । तर, अहिलेसम्म त्यसको खासै गृहकार्य भएको छैन ।

यद्यपि पार्टी महामन्त्रीहरूले असारभित्र सबै निकायले पूर्णता पाउने बताउँदै आएका छन् । चैत ९ गते नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्ष तोकिएको थियो भने शुक्रबार थप दुई वटाको अध्यक्ष तोकिएको छ । पार्टीको फागुन ३ गते बसेको कार्यसम्पादन समितिले विघटन गरेका बाँकी ६ भ्रातृ संगठनको नेतृत्व कहिले टुंगो लाग्ने हो अन्योल नै छ ।