काठमाडौं । अहम् दम्भ र अहंकारका पर्यायवाचीका रूपमा नेपाली राजनीतिमा चिनिएका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भर्खरै सम्पन्न चुनावको नतिजा र आसन्न संघ र प्रदेशको चुनावमा आउने परिणामका कारण राजनीतिक रूपमा गलेको देखिएको छ । त्यसैले उनी कुनै हालतमा वर्तमान सत्ता गठबन्धनलाई तोडी आफ्नो नेतृत्वमा नयाँ गठबन्धन निर्माणको कसरतमा लागेका छन्, आसन्न चुनावमा नयाँ गठबन्धन निर्माण गर्न गठबन्धनका कांग्रेसबाहेक सबै दलहरू र तिनका नेतालाई पद बाँड्ने काममा समेत लागेको बुझिएको छ । कहिले नरम नबोल्ने र अरूको उछितो काड्ने उनको स्वभाव एकाएक नरम हुनुलाई केपी ओली गलेको रूपमा बुझ्न थालिएको छ ।
स्थानीय निर्वाचन अघिसम्म सत्ता गठबन्धनमा रहेका पाँच दललाई एमाले एक्लैले क¥याककुरुक बनाउने बताउँदै आएका ओली प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अन्य कुनै दलसँग नमिले आगामी चुनावमा पार्टी होइन झापाबाट आफैं पनि चुनाव जित्ने अवस्था नभए अहिले भुरेटाकुरे दलसँग छलफलका लागि नेताहरू खटाएका हुन् । त्यसका साथै, कम्युनिस्ट पार्टीहरूको एकताका लागि चिनियाँहरूले तीव्र दबाब दिइरहेका बेला ओलीले आगामी निर्वाचनमा जोसँग पनि तालमेल हुन सक्ने बताएका छन् । कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढ्नुपर्ने प्रस्तावसहित ओली निवास बालकोट पुगेका राष्ट्रियसभा सदस्यहरूलाई विगतमा जस्तै अहिले पनि चुनावी तालमेल जोसँग पनि हुन सक्ने बताएका छन् । त्यसका लागि कुराकानी भइरहेको भन्दै अहिले नै ठोस निष्कर्षमा पुगी नसकेकाले एक्लै प्रतिस्पर्धाका लागि पार्टीलाई तयार राख्न आग्रह गरेका ओलीले २०७४ सालमा माओवादी केन्द्रसँग भएको चुनावी गठबन्धन घोषणासँगै पार्टी एकताको घोषणाको घटना स्मरण गर्दै फेरि पनि त्यस्तो सम्भावना पनि रहेको बताएका छन् ।
केही पहिले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई बालकोट नै गएर भेटेका थिए । त्यस्तै, एमाले र माओवादीका दोस्रो तहका नेताहरू चुनावमा गठबन्धन निर्माण गर्न सकिन्छ भन्ने छलफलमा रहेको बताइएको छ भने एकीकृत समाजवादी र एमाले नेताहरू पनि चुनावमा मिलेर जान सकिन्छ भन्ने कसरतमा रहेका छन् । ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल इमान्दार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन् ।
पार्टी एकताका बेला दिएको सिट संख्यालाई चरम दुरुपयोग गरेर दाहालले आफूलाई साधारण सदस्यबाट समेत निष्काशन गरे पनि आफूले त्यसलाई जोगाएर अघि बढाएको ओलीको दाबी थियो । ‘हामीले प्रचण्डलाई लखेटेको होइन । प्रचण्डसँग त एकता नै गरिएको हो । तर प्रचण्डले एकता गर्दा पनि इमान्दारिताका साथ गर्नु भएन । एकताबद्ध रहँदा पनि इमानका साथ काम गर्नु भएन । र, बेइमानपूर्ण ढंगले हट्नु भयो,’ ओलीको आरोप छ, ‘एकताको निम्ति बनाइदिएको कमिटी, एकताको निम्ति दिइएको संख्या त्यसलाई यति चरम दुरुपयोग गर्नु भयो कि पार्टीको अध्यक्षलाई साधारण सदस्यबाट निष्काशन गर्नुभयो । ती आरोपका साथ पार्टी विभाजनको खेती गर्नु भयो उहाँहरूले । यो बडो दुःखद् कुरा थियो ।’
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभागका प्रमुख लिउ जियानचाओले बिहीबार दाहाल र शुक्रबार ओलीसँग छुट्टाछुट्टै भिडियो संवाद गरेका थिए । लिउले सीपीसी, माओवादी केन्द्र र एमालेको समान अवधारणा र भावनाहरू रहेको उल्लेख गर्दै अन्तरपार्टी आदानप्रदानलाई सुदृढ गर्न, पार्टीहरू बीचको सहयोग प्रवद्र्धन गर्न, जनता–जनताको सम्बन्धलाई बढाउन आफूहरूले चाहेको बताएका थिए । साथै, नेपालका कम्युनिस्ट पार्टीहरूबीचको एकताको पक्षमा आफूहरू रहेको भन्दै दुवै नेतालाई मिलेर अघि बढ्न उनले आग्रह गरेको बताइएको छ ।
एकातिर एक्लै चुनावी प्रतिस्पर्धामा जाँदा जित्न नसकिने र अर्कोतिर चिनियाँको निरन्तरको दबाबपछि ओली गल्दै माओवादी केन्द्र चुनावी तालमेलका लागि तयार भए त्यसका लागि तयार हुने संकेत गरेको स्रोतको दाबी छ । तर, माओवादी केन्द्र भने ओली आफूहरूलाई विगतमा धोका दिएको भन्दै अब चुनावी तालमेल नगर्ने पक्षमा पुगेका छन् । आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेससँग मिलेर अघि बढ्ने र एमालेलाई कमजोर बनाएर देशमा आफ्नो दललाई सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीका रूपमा स्थापित गर्ने रणनीतिमा छन् । एमालेसँग चुनावी तालमेल गर्दा उही ठूलो दल बन्ने र आफ्ना नेता तथा कार्यकर्ता पनि उतै लहसिने भन्दै एमालेसँग कुनै पनि हालतमा आगामी निर्वाचनमा चुनावी तालमेलको सम्भावना नरहेको दाहाल निकट नेताहरूको दाबी छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी कात्तिक अन्तिम वा मंसिर पहिलो साता गर्ने सरकारको तयारी रहेको छ ।





प्रतिक्रिया