देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक दिन पनि टिकेन नेप्सेको उच्च वृद्धि, २३ अंकले घट्दा २ अर्ब ४ करोडको कारोबार

देशान्तर

काठमाडौं – नेप्सेको उच्च वृद्धिदर एक दिन पनि टिक्न सकेन। अघिल्लो दिन ९४ दशमलव ९२ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने २३ दशमलव ८५ अंकले घटेर १९ सय ३३ दशमलव १३ अंकमा पुगेको छ। दुई सय २९ कम्पनीको ४३ हजार एक सय २२ पटकको कारोबारमा ५६ लाख ४१ हजार पाँच सय ४० कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण आज कुल कारोबार रकम २ अर्ब चार करोड ४८ लाख ३१ हजार नौ सय ४८ रुपैयाँ पुगेको छ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव दुई अंकले घटेर तीन सय ७५ दशमलव ८२ अंकमा पुगेको छ । जलविद्युत् समूहको सूचक ६० दशमलव ३३ अंकले घटेर २१ सय ३५ दशमलव ३० अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ९७ दशमलव ८३ अंकले घटेर सात हजार आठ सय २७ दशमलव ९१ अंकमा झरेको छ । फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि घटेका छन् । जीवन बिमा समूहको सूचक भने आज एक सय १३ दशमलव ९६ अंकले बढेर नौ हजार चार सय ५२ दशमलव ७० अंकमा चढेको छ । लगानी समूहको सूचक पनि बढेको छ।

नेप्सेमा आज १३ समूहको कारोबार भएकामा दुई वटाको सूचक बढेर बाँकी ११ वटाको घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव ३८ अंकले घटेर १३ सय ४० दशमलव ६० अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि एक सय १७ दशमलव ५५ अंकले घटेर तीन हजार दुई सय ३६ दशमलव नौ अंकमा झरेको छ ।

यसैगरी आज नागरिक लगानी कोषको प्रतिकित्ता २५ सय ४२ रुपैयाँ अन्तिम मूल्यमा १५ करोड ६५ लाख ८८ हजार दुई सय ७४ रुपैयाँ ८० पैसाको सेयर कारोबार भएको छ । यो आज भएको कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

नेप्सेमा आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता सात सय ९२ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ । यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर आठ सय ९१ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।