देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गल्ती सुधारे धान निर्यात गर्ने अवस्थामा पुगिन्छ : अध्यक्ष ओली

देशान्तर

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा सुधार गर्न नेपालले धान उत्पादन वृद्धि गरी निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताएका छन्। अखिल नेपाल किसान महासङ्घले १९ औँ धान दिवसका अवसरमा आज भक्तपुरको सिरुटारमा आयोजना गरेको रोपाइँ महोत्सवमा उनले अहिले हामी आफैँले गर्दै आएको लापर्बाही, असावधानीको अन्त्य गर्दै कृषिको आधुनिकीकरण, प्रविधिकरण र व्यवसायीकरण गर्नसके धान आयात नभई निर्यात गर्नसक्ने अवस्थामा पुग्ने बताए।

नेपालका ६० प्रतिशत मानिस कृषि पेसामा रहेर पनि आयातको ठूलो हिस्सा कृषिजन्य सामग्री नै हुनु दुःखद् भएको भन्दै उहाँले जग्गा प्लटिङका कारण बस्ती र खेती गोलमाल भएको बताए। प्लटिङ सिस्टमका कारण जथाभावी बस्ती बसालिएको भन्दै उहाँले कहाँ बस्ती राख्ने, कहाँ खेती गर्ने, कहाँ उद्योग स्थापना गर्ने भन्ने नै गोलमाल भइराखेको बताए।

नेपालको भूबनोट र हावापनीअनुसार नेपालमा धानबालीको लागि अति उपयुक्त देश भएको बताउँदै उनले धान, गहुँजस्ता अन्नबाली निर्यात गर्ने अवस्थालाई सुधार गर्न सकिने बताए । कार्यक्रममा उनले मेसिनबाट धान रोपे । पत्नी राधिका शाक्यसँगै मेसिनमा बसेर उनले खेतमा मेसिन गुडाउँदै धान रोपाइँ गरेका हुन् ।

कार्यक्रममा महासङ्घका अध्यक्ष डा प्रेम दङ्गालले नेपालमा बर्सेनि रु ४३ अर्बको धान र चामल आयात हुने गरेको बताउँदै १५ लाख हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा ६५ लाख मेट्रिक टन धान नेपालले उत्पादन गर्नसके धानमा आत्मनिर्भर हुने बताए । कार्यक्रममा नेकपा एमालेका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले असार १५ बितिसक्दा पनि सरकारले किसानलाई मल दिन नसक्दा धान उत्पादनमा ह्रास आउने बताए।