काठमाडौं । सत्ता र शक्तिका लागि जे पनि गर्न तयार हुने नेताको छवि बनाएका वामदेव गौतमले पछिल्लो एक सातादेखि नयाँ नाटक सुरुवात गरेका छन् ।
उनकै अस्पष्ट भूमिकाले एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएपछि मौन बस्दै आएका गौतमले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । एमाले, माओवादी केन्द्र र एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादीतिर पनि नुखलेका गौतम अब घर न घाटको हुने अवस्था आएपछि केही दिनअघि पार्टी घोषणा गरेका छन् ।
७५ सदस्य केन्द्रीय कमिटी घोषणा गरेका उनले फेरि लाज नमानी वाम एकताको बाजा बजाउँदै नेताहरूको घर धाउन थालेका छन् । आफ्नै नेतृत्वमा पार्टी घोषणा गर्ने र वाम एकताको नाममा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूको दैलो धाउनुलाई धेरैले गौतमको नौटंकीका रूपमा लिएका छन् ।
२०५४ सालमा पनि एमालेबाट अलग भएर नेकपा माले गठन गरेका गौतमले २०५६ मा भएको आम निर्वाचनमा एक सिट पनि जित्न सकेका थिएनन् । एमालेबाट अलग भएको मालेप्रति आम मान्छेमा एउटा आकर्षण थियो भने पार्टीका नेता तथा कार्यकर्ताले पनि उनलाई साथ दिएका थिए ।
तर, अहिले आफ्नै श्रीमती र छोरासहितलाई केन्द्रीय कमिटीमा राखेर गठन गरिएको पार्टीले कुनै राजनीतिक अर्थ राख्ने देखिँदैन । पद बार्गेनिङका लागि उनले फेरि नयाँ दोकान खोलेको अनुमान गर्न थालिएको छ । गौतमको नयाँ दोकानका रूपमा आएको पार्टी बहुपदीय प्रणाली रहनेछ ।
केन्द्रीय कार्यसमितिमा एक अध्यक्ष, प्रत्येक प्रदेशसको इन्चार्जको जिम्मेवारी वहन गर्नेगरी सात उपाध्यक्ष, संगठनात्मक जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने जनाइएको छ ।





प्रतिक्रिया