देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

देशान्तर

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ ।उनिहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए ।

भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहँदै आएको चर्चा गर्दै दुवै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्रसङ्घको आदर्शमा प्रतिबद्ध रहेको बताए ।उनले मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदार स्रोत देशका रूपमा मान्यता दिएर ठूलो सङ्ख्याका नेपालीलाई रोजगारी दिएकोमा धन्यवाद दिए ।

मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच पर्यटन प्रवद्र्धनमा जोड दिए । सन् २००३ मार्चदेखि सुरु भएकोे सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उनको भनाइ थियो ।

मलेसियाका उपसभामुख हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधिमण्डलसँग भेटन पाएकामा खुसी व्यक्त गरे । भेटमा नेपाली प्रतिनिधिमण्डलका सदस्य पुष्पा भुसाल गौतम, रामचन्द्र राईलगायत सहभागी रहेको थियो ।