देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन खर्चिलो हुँदा व्यवस्थामाथि नै प्रश्न उठ्यो –नेता पौडेल

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले खर्चिलो निर्वाचनले व्यवस्थामाथि नै चुनौती थपिएको बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित ’आर्थिक शुसासन र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी उम्मेदवारहरुले खर्च गर्ने गरेको भन्दै यसलाई तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिए ।

उनले पार्टीभित्रैबाट टिकट लिनदेखि निर्वाचनसम्म खर्च गर्दै जाँदा आयोगको तोकेको खर्च सीमाभन्दा धेरै गुणा बढी खर्च हुने तथा त्यसले हाम्रो व्यावस्थामै प्रश्न उठेको र यसै कारणले पनि राजनीतिमा युवाको वितृष्णा बढेको टिप्पणी गरे ।’निर्वाचन कानुन र आचार संहिता धेरै छन्, कतिपय रूपमा आयोग सक्रिय देखिएपनि त्यो कार्यान्वयन हुन सकिरहेको देखिँदैन । अहिले संघीय संसदको निर्वाचनका उम्मेदवारले २५ लाख र प्रदेशमा १५ लाख खर्च गर्न पाउने व्यावस्था छ, त्यो खर्चमा एका दुईले निर्वाचन लडेका होलान् नत्र धेरै ठाउँमा यो सीमा भित्र कसैले चुनाव लडेका छैनन् । यतिमात्र होइन निर्वाचनको मौन अवधिमै पैसा बाँडिन्छ भनिन्छ यस्ता खालका अभ्यास हाम्रोमा निकै प्रचलनमा छन् । ’ पौडेलको भने ।

कार्यक्रममा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको खर्च सीमा हाँस्यस्पद भएको टिप्पणी गरे ।पोखरेलले भने –‘ अहिलेका निर्वाचन निकै खर्चिला हुँदै गए । उम्मेदवारको खर्च तीब्र गतिमा बढेको छ । आयोगको एउटा मापदण्ड छ, मापदण्ड एकातिर छ उम्मेदवारको खर्च अर्कातिर छ । कि आयोगले उमेदवारको खर्च नियन्त्रण गर्न सक्नुपर्यो कि यो खर्च सीमा हटाउनु पर्यो । नत्र त यो हाँस्यसपद मात्र भयो ।’

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि निर्वाचन खर्चिलो हुँदै गएकाले यसमा आयोगले कडाइ गर्नुपर्ने धारणा राखेका थिए ।