देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुन्छ : खेलकुदमन्त्री

देशान्तर

काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा हुने बताएका छन् ।

नवौँ राष्ट्रिय खेलकुदको मूल आयोजक कमिटी बैठकमा उनले यसअघि कोभिड–१९, विद्यार्थीको परीक्षा, सार्वजनिक खरिद एनेलगायत विभिन्न समस्याले तोकिएको समयमा हुन नसकेको भन्दै यसपटक भने तोकिएकै समयमा प्रतियोगिता आयोजना गर्दै खेलाडीलाई खुसी प्रदान गर्ने बताए ।

उनले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि छिटोभन्दा छिटो खेलाडीको छनोट गर्ने र केही कमी रहेका खेल पूर्वधारको व्यवस्थापनका लागि गृहकार्य गर्ने बताए । यसअघि उक्त प्रतियोगिता गत जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुने तालिका थियो ।

त्यस्तै खेलकुदमन्त्री गहतराजको अध्यक्षतामा आज बसेको बैठकले राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य सचिव टङ्कलाल घिसिङको संयोजकत्वमा उक्त प्रतियोगिताको लागि कार्यकारी समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले उक्त प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ वटा टोलीको सहभागिता गराउने र विभिन्न ३६ वटा विधामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने, १४ वटा उपसमिति गठन गर्ने, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागुहुने गरी मुख्य ट्रफि निर्माण गरिने र उक्त ट्रफिलाई विभागीय टोलीसँगै सात वटै प्रदेशमा टुरमा लैजाने निर्णाय गरेको छ । बैठकले उक्त प्रतियोगिताको लागि रु ६० करोड बजेट स्वीकृत गर्ने निर्णय गरेको छ ।