देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन केन्द्रित गरेर साङ्गठनिक तयारी गर्दै माओवादी केन्द्र

देशान्तर

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

आगामी मङ्सिरमा ती निकायको निर्वाचन गर्ने तयारीमा सरकार लागेको छ । त्यसका लागि आवश्यक पूर्वतयारीको कामसमेत निर्वाचन आयोग र सरकारलेसमेत सुरु गरिसकेका अवस्थामा माओवादी केन्द्रले आन्तरिकरुपमा तयारी सुरु गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म सबै प्रदेश समन्वय समितिको बैठक र प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यस्तै कर्णाली प्रदेशको बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी साउन २९ गतेका लागि तय गरिएको छ । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारीअनुसार पार्टी सङ्गठन निर्माणलाई तीव्र पार्ने र आन्तरिकरुपमा सबै खालको तयारी गर्ने निर्णय आजको बैठकले गरेको छ ।

यस्तै आगामी निर्वाचनसम्मका लागि केन्द्र र प्रदेशबीच समन्वयको काम गर्नेगरी प्रदेश इञ्चार्जको नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सम्मिलित प्रदेश समन्वय समिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ ।

अन्तर्घातको छानविन गर्न समिति

स्थायी समितिको बैठकले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको अन्तर्घातको छानविनका लागि एक समिति गठन गरेको छ । अनुशासन आयोगका संयोजक टङ्क राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको छानविन समिति गठन गरिएको प्रवक्ता महराले जानकारी दिए।

सो समितिले ७५३ वटै स्थानीय तहको निर्वाचनका क्रममा भएका गतिविधिका बारेमा एकमुष्ठरुपमा छानविन गर्नेछ । समितिले दिने प्रतिवेदनका आधारमा आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाउने माओवादी केन्द्रको तयारी छ ।

अखिल क्रान्तिकारीको समस्या समाधानका लागि समिति

त्यस्तै स्थायी समितिको बैठकले पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी भित्र देखिएको विवाद समाधानका लागि एक समिति गठन गरेको छ । क्रान्तिकारीका पूर्वध्यक्ष रमेश मल्लको संयोजकत्वमा गठन भएको समितिमा पूर्वध्यक्षहरुलाई सम्मिलित गराइएको छ । समितिमा नरेन्द्र न्यौपाने र रत्न ढकाल सम्मिलित सुझाव समिति गठन गरिएको प्रवक्ता महराले जानकारी दिए । स्थायी समिति, पोलिटब्युरो र पदाधिकारी १५ दिनभित्र टुङ्गो लगाउने गरी तयारी गरिएको बताइएको छ ।