देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संघ र प्रदेशको निर्वाचन अघि कुनै पनि पार्टीसँग एकता हुँदैन : अध्यक्ष नेपाल

देशान्तर

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचन अघि कुनै पार्टीसँग पनि एकता नहुने बताएका छन् ।

धनगढीमा आज ९सोमबार० बिहान स‌ञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । अहिले कुनै पार्टीसँग पनि एकता नगरिने उनको भनाइ छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र निर्वाचन अघि नै एकता हुने भन्ने खबरलाई लक्षित गर्दै उनले अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताए ।

निर्वाचन अघि हाम्रो कुनै पनि पार्टीसँग एकता नहुने बताउदै अध्यक्ष नेपालले पार्टी एकता हुन्छ कि भनेर कतिपय थर्कमान भएकाले अहिले मुटुको धड्कन नबढाएर ढुक्क भएर बस्न समेत अनुरोध गरे ।

अध्यक्ष नेपालले आफ्नै बलमा जित्ने गरेर एकीकृत समाजवादी पार्टी देशभरका ७ सय ५३ वटै पालिका र पालिकाका वडामा संगठन निर्माण भइरहेको पनि बताए । सहकार्यका नाममा हामी अरुको आशा गरेर नबस्ने उनले बताए । उनले नीति, कार्यक्रम, विगत र व्यवहारका आधारमा निर्वाचन जित्ने भएकोले ति कुरा आफूहरुसँग भएको पनि दावी गरे ।

यो गठबन्धन कहिलेसम्म रहन्छ भन्ने स‌ञ्चारकर्मीको प्रश्नमा उनले गठबन्धन कहिलेसम्म रहन्छ भन्ने जोतिषीलाई थाहा होला तर यो संसद रहँदासम्म गठबन्धन रहने बताए । उनले निर्वाचनमा पनि एक्लै जित्ने ठाउँमा एक्लै लड्ने नजित्ने ठाउँमा सम्मानजनक ढंगले तालमेल गर्ने पनि बताए ।

उनले नेपाल श्रीलंका जस्तो नहुने बताउदै रुस‐युक्रेन युद्धका कारण विश्वभर नै आर्थिक अवस्था कमजोर भएको बताए ।