देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लगानी कोषले गर्यो ब्याजदर परिवर्तन

देशान्तर

काठमाडौं – नागरिक लगानी कोषले २०७९ साउन १ देखि लागु हुने गरी सहभागीलाई प्रदान गर्ने ब्याजदरमा परिवर्तन गरेको छ ।

कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६ दशमलव ५ प्रतिशतको ब्याजदरलाई बढाएर ८ प्रतिशत पुर्याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ ।

त्यसैगरी साउन १ देखि लागु हुने गरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत ब्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।

कोषले बिमातर्फका सबै कार्यक्रममा वार्षिक ७ दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने निर्णय गरेको छ। कोषले बिमा कार्यक्रमअन्तर्गत निजामती, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक विद्यालयको शिक्षकसहितका राष्ट्रसेवक कर्मचारीहरूको कार्यक्रम सञ्चालनका लागि बिमा शुल्क संकलनको कार्य गर्दै आएको छ ।

राष्ट्रसेवक कर्मचारीहरूबाट आगमी वर्षका लागि आवश्यक पर्ने बिमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बिमा राष्ट्रिय बिमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।