देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महोत्तरीमा धान रोपाइँमा समस्या

देशान्तर

काठमाडौं – मध्य असारयता पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ।

महोत्तरीबाहेकका मधेसका अन्य जिल्लामा पनि सिञ्चितबाहेकका आकाशे पानीको भरका खेतमा पानी नभएर नै रोपाइँ रोकिएको छ।

असार मध्ययता पानी परेको छैन। त्यसअघि परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन्। ब्याड पनि लगातार पानी नपाउँदा पहेंलिन थालेको महोत्तरीका किसानले बताएका छन्।

असार सिद्धिनै लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको संकट पर्ने चिन्ताले पिरोलिएका छन्। मुख्यबाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पालन गर्ने भन्ने चिन्ताले त्यहाँका किसानलाई पिरोलेको छ।

‘ल, भन्नोस् न, आज असार त सकिने हो। पानी नभएर धान रोप्न पाइएन, के गरी गुजारा गर्ने होलारु’ भङ्गाहा नगरपालिका(४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले वीरक्तिँदै भने।

मध्य असारअघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन्।

असार सकिनैलाग्दा धान रोपाइँ जिल्लामा एकतिहाइ नाघेको छैन।

‘उता खेत सुक्दो छ, यता घरमा ज्वरो, रुघाखोकीले परिवारका मान्छे बिरामी भएर लड्दाछन्’, भङ्गाहा नगरपालिका(५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दार भन्छन्, ‘यो बढ्दो तापले सबै भताभुङ्ग पार्‍यो, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न।’

जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले नै जनाएको छ। रोपोको पनि सुकेको छ। रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर गिखरिक्क परेको छ।

रोपेको खेतमा धाँजा फाट्दै छ। जिल्लामा कूल ७० हजार खेतीयोग्य जग्गामध्ये लगभग ५० हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ।

जिल्लाका १० प्रतिशत जग्गामा स्थायी सिँचाइको प्रबन्ध छ। बिहानैदेखि चर्कने घामको प्रचण्ड राप र सँगसँगैको तातो हावाले कृषि मजदुर काममा निस्कन छाडेका छन्।