देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

‘राजनीतिमा मेरो व्यक्तिगत स्वार्थ छैन,

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन् । नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार दमौलीमा गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेन्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे ।

वरिष्ठ नेता पौडेलले भने, ‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो । राष्ट्रका लागि सधैँभर लागिरहन्छु ।’ स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उनले पैसाले चुनाव लड्न खोज्नु पनि राजनीति नभएको चर्चा गरे ।

गाउँमै रोजगारी र गाउँमै आम्दानी बढाउने मुख्य लक्ष्य अझै पनि पूरा हुन नसकेकाले मानिस सहरतिर विस्थापित भइरहेका छन् तर गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सके मानिस गाउँमै बस्नेमा वरिष्ठ नेता पौडेलले जोड दिए ।

‘पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन,’ उनले भने, ‘राजनीतिमा प्रतिस्पर्धा हुन्छ, कोसँग दृष्टिकोण छ त्यसलाई हेरेर जनताले रोज्नु पाउनुपर्छ ।’

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष इमकुमार मल्लले कांग्रेसलाई अप्ठ्यारो परेका बेला मात्र व्यवसायी खोजी गर्ने परम्परा अन्त्य गर्नुपर्ने सुझाव दिए ।

‘चुनाव आउन लागेका बेला मात्रै व्यवसायी खोज्ने होइन, व्यवसायीको पीरमर्का के छ भन्ने बारेमा पार्टीले सधैँ चासो राख्नुपर्छ,’ उनले भने । व्यवसायी वैकुण्ठनाथ मिश्रले पार्टीभित्रका नेता एकजुट हुन नसकेकाले समस्या हुँदै आएको बताए ।