देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

म्याग्दीमा १६ किलोमिटर सडक निर्माण

देशान्तर

काठमाडौं – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ मा करिब १६ किलोमिटर सडकको नयाँ मार्ग खोलेको छ । सडक निर्माण र स्तरोन्नतिमा जोड दिएको गाउँपालिकाका विभिन्न ठाउँमा एक वर्षको अवधिमा १५ दशमलव ९४ किलोमिटर सडकको मार्ग खोलिएको पूर्वाधार शाखाले जनाएको छ ।

गाउँपालिकाका इन्जिनियर ईश्वरबहादुर भण्डारीले तीन सय २० मिटर सडकमा ग्राभेल, पाँच सय ४२ दशमलव ५३ मिटर सोलिङ, दुई सय ३४ मिटर सडकमा आरसिसी ढलान र कजवे निर्माण, छ वटा कल्भर्ट, ५७ दशमलव चार मिटर नाली निर्माण भएको जानकारी दिए।

खिवाङ–घराम्दी र राम्चे–घोडेपानी जोड्ने सडकको मार्ग निर्माण तथा महभिर–हिस्तान–राम्चे सडक स्तरोन्नतिलाई प्राथमिकता दिइएको थियो ।

घोडेपानीबाट फूलबारी र राम्चेबाट आहालडाँडाबाट सडक निर्माण थालिएको छ । खिवाङतर्फबाट घराम्दी जोड्ने सडकको मार्ग खोल्ने उद्देश्यले सडक निर्माण गरिएको छ ।

दुई हजार आठ सय ७४ दशमलव आठ घनमिटर ग्यावियन पर्खाल र एक सय ३२ दशमलव ५३ घनमिटर रिटेनिङ पर्खाल निर्माण भएको छ । वडा नं ४ र ५ मा दुई/दुई र १ मा एकवटा झोलुङ्ग पुल निर्माण गरिएको छ ।

गाउँपालिकाको कार्यक्रमबाट एक हजार दुई सय २४ दशमलव पाँच मिटर नयाँ पदमार्ग निर्माण र दुई हजार आठ सय ९६ दशमलव ७५ मिटर पदमार्ग स्तरोन्नति भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दुई हजार पाँच सय मिटर पदमार्ग निर्माण गरिएको छ । यस वर्ष १९ घरमा नयाँ धारा जडान, ११ हजार चार सय ४७ दशमलव छ मिटर खानेपानी लाइन विस्तार, ३३ हजार लिटर क्षमताका ट्याङ्की निर्माण, ढल निकासका लागि सात सय २६ मिटर पाइपलाइन विस्तार र १२ वटा च्याम्बर बनाइएको छ ।

सामुदायिक तथा विद्यालय, मन्दिर, सभाहल र शौचालय २४ वटा निर्माण गरिएका तथा १३ वटाको मर्मत भएको छ । सरकारी अनुदानमा मनसुनजन्य विपद् प्रभावितका आठ घर निर्माण गरिएका छन् ।

दुईवटा प्रवेशद्वार र एकवटा पार्क निर्माण गरिएको छ । पूर्वाधारसम्बन्धी एक सय ६४ वटा योजना रहेकामा एक सय ६१ वटा सम्पन्न भएका गाउँपालिकाका सूचना अधिकारी हरिकृष्ण आचार्यले बताए ।

उनका अनुसार निर्माण व्यवसायीले काम नगरेपछि रु ५० लाख विनियोजन भएको खिवाङ खानेपानी आयोजनाको ठेक्का रद्द गरिएको छ । तीन योजनाको ठेक्का सम्झौता गरिएको थियो ।

लेखापाल प्रेम पराजुलीले गत आर्थिक वर्षमा चालुतर्फ ७७ दशमलव ९६ र पूँजीगततर्फ ७८ दशमलव शुन्य छ प्रतिशत प्रगति भएको जानकारी दिए।