देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काभ्रेमा मानवअधिकार जिल्ला समन्वय समिति गठन

देशान्तर

काठमाडौं – काभ्रेपलाञ्चोकमा मानवअधिकार जिल्ला समन्वय समिति गठन गरिएको छ। समितिले स्थानीय तहमा मानवअधिकारका विषयलाई गम्भीरतापूर्वक लिई योजनाबद्ध ढङ्गले काम गर्ने जनाइएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा समिति गठन गरिएको हो । मानवअधिकार आयोगले यस्तो समिति बनाउने काभ्रेपलाञ्चोक पहिलो भएको जनाएको छ । आयोगका सचिव मुरारीप्रसाद खरेलका अनुसार अन्य जिल्लामा क्रमशः मानवअधिकार जिल्ला समन्वय समिति गठन गर्दै गइनेछ ।

समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतम रहेका छन् । यस्तै समितिमा प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सदस्य रहन्छन् ।

यस समितिमा मानवअधिकारका क्षेत्रमा काम गर्ने अन्य पाँच संस्थाका प्रतिनिधिलाई सदस्यमा मनोनीत गरिने जिसस प्रमुख गौतमले जानकारी दिए। “जिल्लामा मानवअधिकारको अवस्था सुधार गर्न सबै पक्ष लाग्नुपर्छ, मानवअधिकार एउटा मात्रै पक्षलाई लागू हुने र पूरा हुने विषय नभएकाले संविधानमा व्यवस्था गरिएका अधिकार कार्यान्वयन गर्न सबै जनप्रतिनिधि लाग्नुपर्छ”, उनले भने।

आयोगका सदस्य डाक्टर सूर्यप्रसाद शर्माले समितिले मानवअधिकारका विषयलाई स्थानीय तहले गम्भीरतापूर्वक लिई योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने बताए। “अब स्थानीय तहले मानवअधिकारसँगै दिगो विकास लक्ष्यका १७ वटा लक्ष्य पूरा गर्ने काममासमेत स्थानीय तह जिम्मेवार भएर लाग्नुपर्छ”, उनले भने।

यस्तै यही साउन २ गते काभ्रेपलाञ्चोकमा अपराध रोकथाम तथा विकृति–विसङ्गतीविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ‘समुदाय प्रहरी जिल्ला समिति’ गठन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा गठित समितिले सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्नेछ । समितिले समग्र सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न नेपाल प्रहरी तथा सरोकारवाला निकायबीच संस्थागत साझेदारी गर्दै अपराधजन्य क्रियाकलाप न्यूनीकरण गर्दै लगिने जनाएको छ ।