काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद््को दुवै सदनबाट पारित भएको नागरिकता विधेयक अध्ययनपछि मात्र लालमोहर लगाउने भएकी छन् । संघीय संसद्बाटपारित भएपनि नागरिकता विधेयकमा समावेश गरिएका केही प्रावधानप्रति विभिन्न क्षेत्रबाट प्रश्न उठिरहेका बेला उनले केही समयको अध्ययन र कानुनी परामर्शपछि मात्र लालमोहर लगाउने पक्षमा रहेको स्रोतको दाबी छ । उक्त विधेयकप्रति राष्ट्रपति भण्डारीले मंगलबार केही सम्पादक तथा प्रकाशकहरूलाई शीतल निवास बोलाएर असन्तुष्टि जनाएकी थिइन् ।
कुनै पनि विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर आएको भोलिपल्टै नागरिकता पाउने अहिलेको प्रावधानसहितका विषयमा उनको असन्तुष्टि रहेको सहभागीहरूले जनाएका छन् । त्यसले गर्दापनि राष्ट्रपतिले संसद्बाट पारित नागरिकता विधेयक अन्य विधेयक जस्तो लालमोहर लगाइहाल्ने अवस्था नरहेको निकट स्रोतको दाबी छ । संविधानको धारा ११ को उपधारा (६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ भन्ने व्यवस्था छ । तर सरकारले यसलाई पुरानै ऐनको व्यवस्थाबमोजिम राखेर संविधानका अन्य व्यवस्थालाई सम्बोधन गर्ने गरी विधेयक ल्याएको थियो । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक साबिकको ऐनको दफा ५ मा रहेका वैवाहिक अंगीकृतको व्यवस्थालाई संशोधन नगरेपछि संसद्मा मुख्य गरी प्रमुख प्रतिपक्ष दल एमालेले विरोध गरेको थियो ।
संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित नगरिने सुनिश्चितता प्रदान गरिएकोछ । अब यो विधेयक पारित भएपछि वंशजको र अंगीकृत नागरिकता प्रदान गर्न सकिनेछ । विधेयकलाई पारित भएपछि नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ मा रूपान्तरण गरिने भएको छ ।
यो विधेयकले ऐनको रूप धारण गरेपछि अब यसले नेपाल नागरिकता ऐन २०६३ लाई खारेज गर्नेछ । विधेयकले नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिने संविधानको व्यवस्थालाई समेटेको छ ।
विधेयकले २०७२ साल असोज ३ गतेभन्दा अघि अर्थात् संविधान जारी गर्नुभन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ । अब नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । तर, नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बाबु विदेशी रहेको ठहरेमा त्यस्तो व्यक्तिले वंशजको आधारमा लिएको नागरिकता कायम रहने छैन ।





प्रतिक्रिया