ललितपुर । जनता समाजवादी पार्टीबाट निकालिएपछि डा. बाबुराम भट्टराईले फेरि दुई जना अध्यक्ष रहने गरि नयाँ पार्टी बनाएका छन् । निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गरेका बाबुरामले अध्यक्षमा आफू र महेन्द्रराय यादवलाई राखेका छन् । यादव यसअघि उपेन्द्र यादवसँगको पार्टी छाड्दा बाबुरामलाई साथ दिएर आएका थिए ।
नेपाल समाजवादीको शनिबार बसेको बैठकले भट्टराई र यादवलाई केन्द्रीय समितिको अध्यक्षमा चयन गरेको हो । यसैगरी पार्टी सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन भएका छन् । यस्तै पार्टीको महासचिवमा भने रमेश यादवलाई चयन गरिएको छ ।
बैठकले सातवटा भौगोलिक, एक गैरभौगोलिक र प्रवास गरी ९ प्रदेशको नेतृत्वलाई केन्द्रीय कार्यकारिणी समितिमा थपेको छ ।
प्रदेश १ को इन्चार्जमा राजेन्द्र किराती, मधेशमा देवेन्द्र यादव, बागमतीमा अक्लबहादुर थिङ, गण्डकीमा मोती रिजाल, लुम्बिनीमा कमल खनाल, सुदूरपश्चिममा डा. जनक शाह, कर्णालीमा देवी बहादुर बुढाथोकी चयन भएका छन् ।
गैरभौगोलिकमा ईश्वर रिजाल र प्रवासमा जीएस गुरुङ रहेका छन् । पार्टीको विधानमा व्यवस्था गरिएको संघीय परिषद् अध्यक्ष पद भने खाली राखेको छ ।





प्रतिक्रिया