देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

टरिगाउँ एयरपोर्टमा फ्लाइट घटाइयो

देशान्तर

काठमाडौं – दाङको टरिगाउँ एयरपोर्टमा ‘फ्लाइट’ घटाइएको छ । अहिले हप्तामा तीन दिन मात्रै फ्लाइट हुने गरेको छ । नेपाल वायुसेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज बिग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, बिहीबार र शुक्रबार मात्रै फ्लाइट हुने गरेको छ ।

यसअघि दैनिक हवाई सेवा थियो । “जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौँ”, उनले भने, “पहिले शुक्रबार र शनिबारबाहेक अन्य दिन सेवा दिने गरेका थियौँ, त्यपछि प्रत्येक दिन पनि भएको थियो, तर, अहिले घटाउनु पर्ने अवस्था आएको छ ।”

असारको दोस्रो सातादेखि नियमित हप्तामा तीन मात्रै सेवा दिन थालिएको भन्दै अब साउन अन्तिमतिर दैनिक फ्लाइट भर्ने तयारी रहेकोसमेत उनको भनाइ छ । अहिले हप्तामा तीन दिन फ्लाइट भए पनि यात्रुको त्यति चाप नभएको उनले बताए । सरदर १०/१२ यात्रु आवतजावत गर्ने गरेका छन् । अहिले दाङ–काठमाडौँ हवाई भाडा न्यूनतम भाडा रु आठ हजार आठ सय १० छन्, भने अधिकतम रु १२ हजार छ सय ६५ रहेको छ । काठमाडौँभन्दा दाङ आउँदा भने त्यसको रु दुई सय बढी हुन्छ । काठमाडौँमा यात्रु सेवाबापत रु पाँच सय रहेको, दाङमा रु तीन सय रहेकाले काठमाडौँबाट दाङ आउँदा रु दुई सय बढी लाग्ने गर्छ ।

अहिले एयरपोर्टमा निगमको १९ सिटे टुइनेटर आउने गर्छ । ठूला जहाज आउनका लागि धावनमार्ग विस्तार गर्नुपर्छ । त्यसका लागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ । अहिले सात सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावन मार्ग छ । त्यसलाई बढाउन सकिएमा ठूला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ ।

‘ल्याब रिपोर्ट’को पर्खाइ

एयरपोर्टमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोमा इन्धन भण्डारण लागि ट्याङ्की पनि आइसकेको छ, भने अन्य आवश्यक भवन, सेट, कम्पाउन्ड, डिपोबाट एयरपोर्टसम्म पुग्ने सडक निर्माण भइसकेको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख विपिनकुमार श्रेष्ठले बताए । “डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ”, उनले भने, “अब केही समयमा सञ्चालनमा आउछ ।” डिपो सञ्चालनका लागि अहिले बायो परीक्षणका लागि भारत पठाइएको छ । त्यो रिपोर्ट आएपछि निगमको केन्द्रीय कार्यालयले समिति निर्माण गरेर सञ्चालनमा ल्याउने छ । करिब रु पाँच लाखको लागतमा उक्त डिपो निर्माण गरिएको हो । डिपोमा रहेको ट्याङ्कीमा इन्धन पनि ल्याइसकिएको छ । ३० हजार लिटर क्षमता भएको उक्त इन्धन डिपोमा अहिले २० हजार लिटर इन्धन ल्याइएको छ । ट्याङ्कीमा ३० हजार र बाउजरमा ११ हजार लिटर भण्डारण गर्न सकिने प्रमुख श्रेष्ठले बताए। उनका अनुसार भारतको लखनउबाट नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट दाङमा इन्धन ल्याईनेछ ।

इन्धन डिपो आएपछि भाडामा त्यतिधेरै तलमाथि नभए पनि सहज हुने बायु सेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माले बताए । उनका अनुसार काठमाडौँबाट १२ जना मात्रै आउने गरेका छन्, बाँकी सिटमा इन्धन बोकेर ल्याउनुपर्छ तर, यही इन्धन भर्न सकेमा सबै सिटमा यात्रु आउनेछन् । दाङबाट पनि अहिले सबै सिटमा पठाउन सकिएको अवस्था छैन । इन्धन डिपो सञ्चालनमा आएमा सबै सिटमा राखेर पठाउन सकिने उनले बताए। विसं २०११ मा उक्त एयरपोर्ट सञ्चालनमा आएको हो तर, बीच–बीचमा हवाई सेवा अनियमित हुने गरेको छ ।