काठमाडौं – वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लास्टिक प्रदूषण मुक्त बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समुन्द्रलाई प्लास्टिक प्रदूषण मुक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज (सोमबार) आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष बृहत् कार्यशालामा उनले नेपाललाई प्लास्टिकजन्य फोहोर र प्रदूषण नियन्त्रण गर्न आफू लागि परेको बताए ।
‘प्लास्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्यामध्ये एक हो, यसको समाधान खोज्न हामीले ढिलो गर्नु हुँदैन,’ मन्त्री यादवले भने । मन्त्री नियुक्त भएपश्चात छोटो समयमै धेरै कामको सुरुवात गरेको दाबी गर्दै उनले ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिकको प्रतिबन्धलाई कडाइ साथ कार्यान्वयन गर्न आफूले निर्देशन दिएको जानकारी गराए ।
यादवले केही दिनअघि मात्रै मन्त्रालयबाट एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाइको प्लास्टिक प्रतिबन्धलाई कडाइ साथ लागु गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका थिए ।
त्यसैगरी उनले प्लास्टिकजन्य पुष्पगुच्छा तथा माला आयात, बिक्री-वितरण र भण्डारणमा पनि आफूले मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी दिए ।
प्रतिबन्धले प्रदूषण न्यूनीकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उनको विश्वास छ । आगामी भदौ १ देखि प्लास्टिक प्रदूषणमुक्त बनाउन थप काम पनि हुन गइरहेको उनले बताए ।
यसैगरी वीरगन्जस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्न मन्त्रालय तथा मातहतका निकायबाट महत्त्वपूर्ण काम भइरहेको उनले बताए ।
‘वीरगन्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन म लागि परेको छु, मन्त्रालयबाट खटेको एउटा विज्ञहरुको टोलीले त्यहाँ अनुगमन गर्दै छ, अनुगमनको प्रतिवेदन आउनसाथ नदीलाई प्रदूषित गर्ने उद्योगहरुलाई कारबाही गर्ने प्रकिया सुरु हुन्छ,’ उनले भने ।
आफूहरुले राष्ट्रियस्तरबाट प्लास्टिकजन्य फोहोर र प्रदूषण कम गर्न निरन्तर काम गरिरहे पनि अन्तर्राष्ट्रियस्तरको सहयोगबिना त्यो अपर्याप्त हुने उनको भनाइ थियो । ‘प्लास्टिक प्रदूषण मुक्त बनाउन हामी एक्लैले चालेका कदमहरु अपर्याप्त हुन सक्छन् ।
अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको पनि आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग हुनुपर्दछ,’ उनले भने ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सासोपका महानिर्देशक एमडी मसुमुर रहमान, विश्व बैंकका प्रतिनिधिलगायतको सहभागिता थियो ।





प्रतिक्रिया