देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

देशान्तर

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाकै अवधिमा सो पुलको निर्माण सम्पन्न गरेको हो ।

सो पुल कुल रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । गत २०७८ मङ्सिरमा सम्झौता गरी पुसबाट पुल निर्माण सुरु गरेको र गत २०७९ वैशाखमा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख ई सञ्जयकुमार मिश्रले जानकारी दिए।

यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्वपूर्ण रातुखोलाको पुल पनि सम्झौता अवधिअगावै निर्माण सम्पन्न भएको छ । कुल रु १४ करोडको लागतमा पप्पु दिवा जेभी प्रालिले दुई सय मिटर लामो पुल निर्माण सम्पन्न गरेको प्रमुख मिश्रले बताए। आव २०७५र७६ मा सम्झौता भई २०७९ वैशाखमा निर्माण सम्पन्न गरेको हो ।

आव २०७८/७९ मा निर्माण सम्पन्न भएका यी दुवै पुलको गत २०७९ वैशाखमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उद्घाटन गरेकी थिइन। अत्यन्तै महत्वपूर्ण मानिएको दुवै पुल निर्माणसँगै यातायात आवागमनमा सहजता भएको स्थानीयले बताएका छन् ।

कम रकममा ठेक्का सम्झौता गर्ने र वर्षौसम्म योजना अलपत्र छाड्ने प्रवृृत्ति बढिरहेका बेला यसरी समयअगावै पुल निर्माण सम्पन्न गरेर राम्रो उदाहरण प्रस्तुत गरेको बर्दिबासका स्थानीय तारणी लामगादेले बताए। “ठेकेदारको प्रवृत्ति देख्दा यो पुल पनि वर्षौसम्म बन्दैन कि भन्ने हाम्रो चिन्ता थियो”, लामगादेले भने, “तर निर्माण कम्पनीले सोचेभन्दा थोरै समयमा पुल निर्माण सम्पन्न गरेको छ ।” यो अरु निर्माण कम्पनीका लागि पनि उदाहरणीय कार्य भएको उनको भनाइ छ ।

यी दुई पुलमात्र होइन, आव २०७८/७९ मा धनुषा र महोत्तरीका ११ वटा पुल निर्माण सम्पन्न भएको छ । दुवै जिल्लाका विभिन्न सडकमा निर्माणाधीन ५३ वटा पुलमध्ये यस आवमा ११ पुलको निर्माण सकिएको र बाँकी पुलको निर्माणकार्य भइरहेको प्रमुख मिश्रले बताए। ठेक्का लिएर पनि लामो समयदेखि काम अलपत्र छाड्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरेपछि धमाधम पुल निर्माण भएको प्रमुख मिश्रको भनाइ छ । उनका अनुसार योजना अलपत्र छाड्ने ८८ निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।

यस्तै सडक डिभिजन कार्यालय जनकपुरधाम धनुषाद्वारा निर्माणाधीन धनुषा र महोत्तरीका रणनीतिक सडकमध्ये आव २०७८र७९ मा २५ किलोमिटर सडक कालोपत्र गरिएको छ । कुल ८८ किलोमिटर सडकमध्ये आव २०७८/७९ मा २५ किलोमिटर सडक कालोपत्र गरिएको सडक डिभिजन कार्यालय जनकपुरधामले जनाएको छ । गत आव २०७७/७८ मा धनुषा र महोत्तरीमा १७ वटा पुल निर्माण भएको थियो भने ८८ किलोमिटर सडक कालोपत्र भएको थियो ।

बजेट आभावका कारण अघिल्लो आव २०७७/७८ को तुलनामा आव २०७८/७९ मा कम सङ्ख्यामा पुल निर्माण र सडक कालोपत्र भएको प्रमुख मिश्रको कथन छ । यस्तै आव २०७८/७९ मा तराई मधेस विशेष पूर्वाधार कार्यक्रमअन्तर्गत धनुषा र महोत्तरीमा विभिन्न ८८ वटा सडक पूर्वाधारका योजना प्रदेश सरकारमा हस्तान्तरण गरिएको प्रमुख मिश्रले बताए।