देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पहिरोमा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले दियो किरिया खर्च

देशान्तर

काठमाडौं – म्याग्दीको मालिका गाउँपालिकाले पहिरोमा परी मृत्यु भएकाको परिवारलाई किरियाखर्च प्रदान गरेको छ ।

यही साउन १७ गते पहिरामा पुरिएर मालिका–२ गाल्दामा घामबहादुर विकको परिवारका पाँच जनाको निधन भएको थियो । १३ औँ दिनको पुण्यतिथि पारेर घामबहादुरको परिवारको किरिया बसेका आफन्तलाई किरियाखर्चबापत आइतबार रु एक लाख २५ हजार उपलब्ध गराएको वडा अध्यक्ष उदयबहादुर बुढाथोकीले जानकारी दिए।

वडा कार्यालयले आयोजना गरेको शोकसभामा गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष बुढाथोकीलगायतले रकम हस्तान्तरण गरेका थिए। पहिरामा घामबहादुर, उनकी श्रीमती राममाया, छोरी रोजी, छोरा राजन र नवीनको मृत्यु भएको थियो ।

पहिराले हुत्ताएर घाइते भएका गोठे र उनकी श्रीमती गोरी विक पोखरामा उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। पहिराका कारण मालिकाको २ नम्बर वडामा ११ घरपरिवार विस्थापित भएका वडाध्यक्ष बुढाथोकीले बताए। आइतबार २ नम्बर वडाको सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको थियो ।

गाउँपालिका अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख सागर पन्त, मालिका ४ का वडाध्यक्ष भीजेन्द्रमान पुन, प्राविधिक विमलमान राई, विकास गुरुङ, स्वकीय सचिव विनोद बुढाथोकीको टोलीले चिउरीबोट, ओखरबोटलगायत पहिराले क्षति पुर्‍याएको र जोखिम बनाएको ठाउँको अनुगमन समेत गरेको छ । वडा नम्बर ४ मा छ घर पहिरोबाट विस्थापित भएका छन् ।