काठमाडौं – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।
यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा विगतमा काटिएको सार्वजनिक बिदालाई सरकारले फेरि निरन्तरता दिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने उल्लेख छ ।
उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्।
त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
उनले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गरेका हुन ।





प्रतिक्रिया