देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपाङ्गता परिचयपत्रको भरमा सापकाेटा परिवार

देशान्तर

काठमाडौं – धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो । आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपाङ्गता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे ।

पारिवारीक बोझ र आर्थिक सङ्कटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो । उनको थाप्लोमा आमा, बुवा र दुई भाइको जिम्मेवारी छ। सापकोटाको पाँच जनाको परिवारमध्ये उनीमात्रै सपाङ्ग हुन् । उनीबाहेक बावु, आमा र दुई भाइ जन्मजात अपाङ्ग छन् । आमालाई क्यान्सर रोगसमेत छ । लालनपालन सबै २३ वर्षीया दुर्गाको काँधमा छ ।

दुर्गाका बुवा जगन्नाथ बोल्न र सुन्नसमेत सक्दैनन्। आमा सीता, भाइ प्रेम र प्रदीपको खुट्टा चल्दैन । “सात वर्षको उमेरदेखि मेलापातमै बितेको छ, आफ्नो एक टुक्रा जमिन छैन, अर्काको जग्गा अधिया कमाएर परिवार पाल्दै आएकी छु, आमाको दुवै खुट्टा बाङ्गो छ, पाठेघरको क्यान्सर छ । आर्थिक अभावले उपचार गर्न सकिएको छैन”, उनले भनिन्, “भाइलाई घरमा पाल्न नसक्दा पोखरास्थित वेदआश्रममा पठाएकी छु ।”

बुबा बाहेक सबैलाई उपचारका लागि पोखरा र भरतपुर लगेको दुर्गाले सुनाइन्। गत साउन २९ गते सबैजनाको अपाङ्गता परिचयपत्र बनाएको उनले बताइन्। “सम्पत्तिका नाममा खोला छेउमै रहेको घर छ”, उनले भनिन्। अपाङ्गता परिचयपत्रका आधारमा राज्यले दिने आर्थिक सहायताले औषधोपचार गर्दै आएको दुर्गााको भनाइ छ । आमा सीताले ‘क’ वर्गको तथा अन्य तीन जनाले ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र पाएका छन् । ‘क’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु चार हजार र ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकालाई मासिक रु दुई हजार प्राप्त हुन्छ ।