काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरूको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई हेरेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।
राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यकताको पहिचान गरी त्यहीअनुसारको जनशक्ति तयार पार्नुपर्ने देशसामु विद्यमान चुनौतीको सामना गरेर अघि बढ्न अस्पतालहरूको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पारे ।
काठमाण्डौको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वाससमेत व्यक्त गरे । राष्ट्रपति भण्डारीले यो अस्पतालले बाल मृत्युदर घटाउनसमेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराए ।
राष्ट्रपति भण्डारीले कोभिड–१९ सङ्क्रमणको कठिन समयमा पनि बिरामीको उपचारमा कमी हुन नदिएको भन्दै अस्पतालका चिकित्सकसहितका स्वाथ्यकर्मीको पनि प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले आम नागरिकले सेवा पाउने गरी यो अस्पतालको सेवा सबै जिल्ला र प्रदेशमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले त्यसका लागि सरकारले आवश्यक अत्याधुनिक मेशिनहरू नेपाल भित्र्याउने कामलाई अघि बढाएको पनि बताए ।





प्रतिक्रिया