काठमाडौँ – नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा बहुमत ल्याउने गरी तयारी गरिरहेको दाबी गरेका छन् ।
पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुखसमेत रहनुभएका भट्टराईले सङ्घ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आउँदो चुनावको तयारी गरिरहेको बताएका हो ।
शुक्रवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आउँदो चुनावका लागि आफ्नो पार्टीले नागरिकको आकाङ्क्षाअनुसारको घोषणापत्र निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । त्यसका लागि पार्टीका सबै विभागले विज्ञहरूसँग छलफल गरेर घोषणापत्रको मस्यौदा तयार पार्ने योजनाअनुसार काम भइरहेको पनि सचिव भट्टराईले जानकारी दिए ।
उनले भने, ‘एमालेसँग विगतमा सरकार सञ्चालन गरिसकेको अनुभव छ । हामी आउँदो चुनावमा सरकार सञ्चालन गर्ने आकाङ्क्षाका साथ तयारी गरिरहेका छौँ । त्यसो हुँदा हाम्रो घोषणापत्र बढी व्यावहारिक, बढी उपयोगी र प्रतिबद्धताहरूलाई सम्बोधन गर्दै अगाडि जाने खालको हुनुपर्छ ।’
सचिव भट्टराईले पार्टीको स्वास्थ्य तथा जनसङ्ख्या विभागले आउँदो चुनावका लागि बनाउन लागेको घोषणापत्रको मस्यौदाका लागि आवश्यक सुझाव दिन पनि विज्ञहरूलाई आग्रह गरेको बताए । एमालेले पार्टीका सबै विभागलाई यही भदौ १५ गतेभित्र चुनावी घोषणापत्रका लागि मस्यौदा तयारी पारी पार्टीमा बुझाउन निर्देशन दिएको छ ।
त्यहीअनुसार सबै विभागले आफ्नो कामलाई अघि बढाएको पनि सचिव भट्टराईले बताए ।





प्रतिक्रिया