काठमाडौं । महाधिवेशन भएको ८ महिनापछि नेकपा माओवादीले पदाधिकारी चयन गरेको छ । केन्द्रीय समितिको बैठकबाट पदाधिकारी चयन गर्ने भन्दै गत पुसमा महाधिवेशन सम्पन्न भएको भनिए पनि केन्द्रीय समितिले अध्यक्ष मात्रै चयन गर्यो । केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने जिम्मा स्थायी समितिलाई दियो । स्थायी समितिले लामो रस्साकस्सीपछि शनिबार पदाधिकारी चयन गरेको छ ।
विभिन्न अड्कल र अनुमानविपरीत देवप्रसाद गुरुङ नेकपा माओवादी केन्द्रको महासचिव बनेका छन् । विवादित अर्थमन्त्री जनार्दन शर्मा र अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र वर्षमान पुनलाई माथ गर्दै गुरुङ महासचिव बनेका हुन् । महासचिवका अधिकांश आकांक्षीलाई अध्यक्ष पुष्पकमल दाहालले उपमहासचिवमा राखिदिएका छन् ।
अध्यक्ष दाहालपछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा छन् । उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव छन् । यसअघि यीमध्ये अधिकांशलाई उपाध्यक्ष बनाउने चर्चा भएको थियो । पोखरेल, पुन, शर्मा, बस्नेत, यादव, गजुरेललाई उपमहासचिव बनाइएपछि महरा एकल उपाध्यक्ष स्थापित भएका छन् ।
यस्तै दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की बनेका छन् । श्रीराम ढकाल कोषाध्यक्ष बनेका छन् । उनी केन्द्रीय कार्यालयका सचिव पनि हुन् । पदाधिकारी चयनमा सन्तुलन मिलाएको दाहालको दाबी छ ।





प्रतिक्रिया