देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेता प्रदीप गिरिको आश्रममा छायो सन्नाटा

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसका नेता स्व प्रदीप गिरिको सिरहाको लहान नगरपालिका–१४ मा रहेको पुर्ख्यौली बस्ने घर । उहाँ यही घरमा बस्थे ।
सिरहा – नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आश्रममा यतिबेला सन्नाटा छाएको छ ।

सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरिले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाएका थिए । उनको निधनसँगै आश्रममा सन्नाटा छाएको छ । बाह्र बिघा क्षेत्रफलमा रूख बिरुवाका बीच बनेको आश्रममा समाजवादी चिन्तक प्रदीप गिरि आउने बित्तिकै कार्यकर्तादेखि बौद्धिक व्यक्तित्व भेला भइहाल्थे ।

वनस्पतिले दिने शीतलता, चराचुरुङ्गीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ । आश्रममा २०५२ सालदेखि काम गर्दै आउनुभएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामाको अनुहार मलिन छ ।

आफ्नो प्यारो अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उनीहरु शोकमा डुबेका छन् ।

आश्रमको अभिभावक नै सदाका लागि छाडेर गएपछि हाम्रो बिजोग भएको छ, हामी अभिभावकविहीन भएका छौँ, आश्रमको रेखदेख गर्दै आएका रामकृष्ण चौधरीले भने, पहिला मान्छेको भिडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाइ बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि आश्रममा प्रायः मान्छे आउनै छाडेका थिए । अब त झन उहाँ सदाका लागि यो संसारबाट बिदा भएपछि किन आउँछन् र मान्छे यहाँ ।

सिरहाको लहान बजारदेखि करिब छ किलोमिटर उत्तर पश्चिममा पर्ने बस्तीपुर गाउँको पुर्ख्यौली घर छाडेर नेता गिरिले गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आएका थिए । करिब छ बिघा क्षेत्रफलमा फैलिएको यस आश्रममा नेता गिरिले थप्रै दलित तथा सुकुम्वासीलाई जग्गा दिएर बसाएका छन् ।

भारतका नेता जयप्रकाश नारायणले जस्तै कर्मप्रधान आश्रम बनाउने परिकल्पनाअनुसार नेता गिरिले २०४८/४९ सालमा बिरुवा रोपेर आश्रम स्थापना गरेका थिए । त्यसको १० वर्षपछि पुनःस्थापना गर्नुभएको आश्रममा स्वरोजगारमूलक बनाउन धेरै अध्ययन गरेर उनले पशुपालन सुरु गरेका थिए।

जन्मथलो बस्तीपुर आउँदा नेता गिरि धेरैजसो समय आश्रममै बिताउथे, उनका समकालीन ७१ वर्षीय कुमुदरन्जन बरालले भने, प्रदीप दाइ जहिले पनि नेपालका बारेमा, यहाँको दरिद्रता, विषमता, बेरोजगारी, सार्वजनिक व्यवहारमा बढिरहेको जातीय एवम् धार्मिक वैरभाव, पर्यावरणमा आइरहेको ह्रास, कृषि संस्कृतिको विकासका बारेमा चासो राख्थे ।

आश्रममा अहिले अध्ययन केन्द्र, प्रशिक्षण केन्द्र, बालबालिका अध्ययन केन्द्र, गरिब नागरिकका लागि सहकारी, दलित सशक्तीकरणका लागि दलित जनकल्याण युवा क्लब, महिला अधिकार केन्द्र र फूलबारी रेडियो सञ्चालित छन् ।

इँटाको पर्खाल र जस्ताले छाएको आश्रम बनाएर बस्दै आएका नेता गिरि त्यहीँबाट राजनीतिक र सामाजिक गतिविधि गर्दै आएका थिए । आश्रमभित्रै बैठक कक्षसमेत रहेको छ ।

अब आश्रमको भविष्य के हुन्छ भन्ने अन्योलसमेत बढेको छ ।