देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साताभरि नै वर्षाको सम्भावना

देशान्तर

काठमाडौं – साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर साताभरि नै देशभर आंशिकदेखि सामान्य बदली रही साताको सुरू तथा मध्यतिर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र साताको अन्त्यमा थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै साताको सुरू तथा मध्यतिर प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको पनि सम्भावनासमेत छ।

विभागका अनुसार देशका अधिकांश भू–भागमा अधिकतम तापक्रम हल्का घट्ने र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ भने हिमाली भेगको तापक्रममा उल्लेखनीय परिवर्तन नहुने बताइएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव नौ डिग्री र अधिकतम तापक्रम ३१ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।