देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुख्यमन्त्री पोखरेल र पाकिस्तानी राजदूतबीच भेटवार्ता

देशान्तर

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इश्लामिक गणतन्त्र पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच शुक्रबार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जनस्तरसम्म सदृढ रहेको भन्दै शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा द्विपक्षीय सहकार्य अझै बढाउनुपर्नेमा जोड दिए। त्यस क्रममा मुख्यमन्त्री पोखरेलले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध पनि मजबुत रहेको बताए । पारस्पारिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र पाकिस्तानबीच हुँदै आएका समन्वय र सहकार्य उल्लेखनीय रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले पाकिस्तानमा हालै वाढीबाट हुन गएको धनजनको क्षतिप्रति दुःखसमेत व्यक्त गरे । मुख्यमन्त्री पोखरेलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै राजदूत शाहले पहिलो पोखरा भ्रमणबाट आफू रोमाञ्चित भएको प्रतिक्रिया दिए । पोखराको नाम धेरै सुनेको र पहिलोपटक आउँदा यहाँको सुन्दरताले लोभिएको उनको भनाइ थियो । उनले दुई देशका जनताबीचको सम्बन्ध समुधुर रहेको उल्लेख गरे । राजदूत शाहले दुई देशबीच पर्यटन, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनलगायत मुद्दामा सहकार्य अझ बढाउनुपर्नेमा जोड दिए।

नेपाली विद्यार्थी अध्ययनका लागि पाकिस्तान जाने गरेका उल्लेख गर्दै राजदूत शाहले छात्रवृत्ति कोटा थप्दै जाने बताए । उनले कोभिड–१८ महामारी, भूकम्प जस्ता विपद्का घडीमा नेपाल र पाकिस्तानबीच मित्रवत् सहकार्य भएको स्मरण गरे । जलवायु परिवर्तनले नेपाल र पाकिस्तान जस्ता देशमा ठूलो असर निम्ताइरहेको भन्दै त्यसको न्यूनीकरणका लागि साझा पहल र सहकार्य जरुरी रहेकामा राजदूत शाहले जोड दिए।

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्धले छ दशक पार गरिसकेको छ । दुवै देशले वित्तीय क्षेत्र, कृषि, पशुपालन, ऊर्जा, स्वास्थ्य, शिक्षा, संस्कृति, पर्यटन, सूचना, प्रविधिलगायत क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।