काठमाडौं । आसन्न चुनावको परिणाम आफ्नो पक्षमा पार्न प्रमुख राजनीतिक दलहरू आआफ्ना चुनावी कार्यक्रमसहित जनता माझ गइरहेका बेला नेपालमा हुन लागेको चुनावलाई लिएर छिमेकी मुलुकहरूको चासो र सक्रियता बढ्दै गएको अवस्थामा उत्तरी छिमेकी मुलुक चीनले भने आफ्ना नेताहरूलाई शृंखलाबद्ध रूपमा नेपालमा उतार्दै कम्युनिस्ट दलहरूलाई एकजुट बनाएर वामपन्थी शक्तिलाई बलियो बनाउने ध्याउन्न गरिरहेको छ । विशेषगरी आगामी निर्वाचनमा नेपालका कम्युनिस्ट पार्टीहरूलाई एकै ठाउँमा उभ्याउन लामो समयदेखि प्रयासरत चीनले उम्मेदवारी मनोनयनको केही दिन बाँकी रहँदा चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो वरीयताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि झान्सु नेपालको तीनदिने नेपाल भ्रमणमा पठाउन लागेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणाको बहानामा भदौ २७ गते काठमाडौं आउन लागेका लीले यहाँ रहँदा सीमित औपचारिक भेटवार्ता गरे पनि आन्तरिक र अनौपचारिक रूपमा भने वामपन्थी नेताहरूसँग चरणबद्ध छलफल गर्ने बताइएको छ । आगामी चुनावमा नेपालका कम्युनिस्ट पार्टीहरू मिलेर अघि बढून् भन्ने सन्देश नै लिएर आउन लागेको निकटहरूको बुझाइ छ । २०७४को निर्वाचन अघि दुईतिर फर्केका एमाले र माओवादी केन्द्रलाई रातारात चुनावी तालमेलसहित पार्टी एकीकरण गराउन सफल चिनियाँहरूले दुई पार्टीको एकतालाई जोगाउन अन्तिमसम्म प्रयास गरेका थिए ।तर,उनीको प्रयास र दौडधुप असफल बनेपछि तीन वर्ष पुग्दा नपुग्दै दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी फेरि आआफ्नो बाटो लागेका थिए । त्यसपछि पनि उनीहरूलाई मिलाउन विभिन्न तहका नेताहरू सक्रिय छन् । कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जिन्चाओले नेपाल भ्रमण गरेको दुई महिनापछि पार्टीको तेस्रो वरीयताका नेता नेपाल आउन लागेका हुन् । अन्तर्राष्ट्रिय विभाग प्रमुख जिन्चाओ गत असार २६ मा चार दिवसीय भ्रमणका सिलसिलामा नेपाल आएका थिए । नेपाल भ्रमणका क्रममा झान्सुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
पछिल्लो समय दुई शक्तिराष्ट्र चीन र अमेरिकाबाट एकपछि अर्काे गर्दै राजनीतिक भ्रमण भइरहेका छन् । विशेषगरी नेपालको संसद्बाट अमेरिकी विकास परियोजना मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी सम्झौता) पारित गर्ने विषयमा बहस भइरहँदा र एमसीसी पारित भएपछि एक पछि अर्काे गर्दै अमेरिकी उच्च अधिकारीहरूले नेपाल भ्रमण गरिरहेको सन्दर्भमा अर्काे शक्ति मुलुक तथा नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट पनि निरन्तर उच्चस्तरीय भ्रमण भइरहेको हो । झान्सु र जिन्चाओको भ्रमण अघि गत चैत ११ मा चिनियाँ विदेशमन्त्री वाङयी तीन दिवसीय भ्रमणका सिलसिलामा नेपाल आएका थिए ।





प्रतिक्रिया