काठमाडौं – जनसम्पर्क समिति विश्व संजालले समाजवादी चिन्तक एवं कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको सम्झनामा शोक सभा गरेको छ ।
कांग्रेस वरिष्ठ नेता डा शेखर कोइराला को प्रमुख आतिथ्यतामा जनसम्पर्क अन्तराष्ट्रिय समवन्य समिति ‘विश्व सञ्जाल’ ले शनिबार(हिजो) समाजवादी चिन्तक नेपाली कांग्रेस का नेता गिरीको स्मृतिमा शोक सभाको आयोजना गरेको हो । संजालका सभापति बिष्णु सुवेदीको अध्यक्षता मासम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि डा. शेखर कोइराला र विशेष अतिथि नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के सी , सहमहामंत्री जीवन परियार, प्रखर वक्ता गुरुराज घिमिरे र देवराज चालीसेलगायतका नेताहरू उपस्थित थिए ।
कार्यक्रम दिवंगत समाजवादी चिन्तक नेता गिरीको फाेटोमा पुष्प गुच्छा अर्पण गरी १ मिनेट मौन धारण गर्दै सुरु गरिएको थियो । कार्यक्रममा बोल्दै डा कोइरालाले प्रदीप गिरी ज्ञानको सागर भएकाले उनको ज्ञान र विचारको मापन गर्न गाह्रो हुने बताए । ‘उहाँ त्याग र ज्ञान को भण्डार हो, सादगी, विलक्षण प्रतिभाका धनी प्रदीप गिरी प्रति श्रद्धा सुमन व्यक्त गर्दा अहिलेको नेतृत्वले बोकेको लक्ष्यविहीन राजनीतिलाई कसरी प्रदीप गिरीको विचार र सिद्धान्तमा जोडेर लाने त्यो चुनौति छ,’ उनले भने ।
‘विपरीत ध्रुवका पार्टीसँगको गठबन्धनले दूरगामी रूपमा हाम्रो पार्टी र सिद्धान्तलाई कहाँ पुर्याउँछ ? गठबन्धन गर्दा १०० संख्या भन्दा कम सिट लिएर गठबन्धन गर्दा पार्टी भित्र विद्रोह सम्भावना छ’ उनले थपे । उनले दण्डहीनताको अन्त्य हुने पर्नेमा दोषीले उन्मुक्ति पाउने मात्र अवस्था सिर्जना भएको कुरामा जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले प्रदीप गिरी सम्पूर्ण रूपले लोकतन्त्रवादी, सम्पूर्ण रूपले समाजवादी र सम्पूर्ण रूपले चिन्तक र स्वतन्त्र विचारक भएको बताए । प्रदीप गिरी व्यक्ति नभएर विचार भएको उनको भनाइ छ। उनले अहिलेको नेतृत्वले पार्टीको सिद्धान्त र विचारबाट पूर्णरूपमा विचलन भएको खाली सत्ता केन्द्रित राजनीति गरेको, विचार व्यक्त गरे।
त्यस्तै कार्यक्रममा बोल्दै गुरुराज घिमिरेले त्याग र विचारका प्रतिमूर्ति गिरीको विचार सदा अमर रहने बताए । उनले भने, ‘अहिले सरकार र नेतृत्व स्वार्थको राजनीतिमा मात्र लिप्त छ सरकारको गलत कुरा को जवाफ दिन हामी बाध्य छौं अप्ठ्यारो अवस्था मा छौं।’ कार्यक्रममा संजालका संरक्षक हरि पौडेल (नेदरल्याण्ड), धर्मराज अधिकारी (जापान) , पियुस दाहाल (अमेरिका)ले प्रदीप गिरी को विचारको स्मरण गरेका थिए। कार्यक्रममा विभिन्न देशका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू र जनसम्पर्क समितिका अध्यक्ष लगायत पदाधिकारीहरू, एनआरएनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया