देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शशांक कोइराला र बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजे

देशान्तर

नवलपुर – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् ।

दुवै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिएका छन् ।

उद्योगपति चौधरी कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक सदस्य हुनुहुन्छ । यस्तै, उक्त निर्वाचन क्षेत्रबाट डा। कोइरालाले ३ पटक चुनाव जितेका थिए। यस पटक पनि सोही निर्वाचन क्षेत्रबाट उनको चुनाव लड्ने तयारी रहेको छ ।

सोही जिल्लामा २ वटा निर्वाचन क्षेत्र रहेका छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं. १ बाट ८ जना र क्षेत्र नं. २ बाट ६ जनाले आवेदन दिएको पार्टीले जनाएको छ । यसैगरी, समानुपातिकतर्फ १५ जनाले आवेदन दिएका छन् । जसअनुसार क्षेत्र नं. १ बाट ८ र क्षेत्र नं. २ बाट ७ जना रहेका छन् ।

प्रदेश सभा सदस्यतर्फ भने १ सय बढीको आवेदन परेको जिल्ला सचिव रानाभाटले बताए । प्रदेश सभा सदस्यका लागि आवेदन दिनेमा वर्तमान प्रदेश सभा सदस्यदेखि नगर सदस्यमा चुनाव हारेका समेत रहेको उनले बताए । आवेदन परेका सबैको नाम छनौट गरेर यहि भदौ २० गते उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने पार्टीले जनाएको छ ।