काठमाडाैं – देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनर चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिमतिर सरदर स्थानको आसपास अवस्थित छ । विभागका अनुसार प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीका साथै प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र मधेश प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । वर्षा हुने पहाडी भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





प्रतिक्रिया