देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महानगरले आज महाराजगञ्ज र बसुन्धरा क्षेत्रमा चलायो डोजर

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ ।

महानगरबाट पास भएको नक्साअनुसार निर्माण नभएका संरचनाहरु महानगरले भत्काउँदै आएको छ । यस्तै, सार्वजनिक स्थलमा बनेका संरचना, फुटपाथमा बनेका संरचनाहरु हटाउन पनि महानगर लागिपरेको छ ।

काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने क्रममा आज बुधबार महाराजगञ्ज र बसुन्धरा क्षेत्रका अवैध संरचनाहरुमा डोजर चलाएको छ । महानगरको टोलीले बिहान महाराजगन्ज र बसुन्धरा क्षेत्रका अवैध संरचनाहरु डोजर लगाएर भत्काएको हो ।

महानगरपालिकाको टोली डोजरसहित पुगेपछि सर्वसाधारणले धमाधम आफनो सामान सुरक्षित स्थानमा सारेका थिए भने केहीको आँखा रसाएको थियो । यस क्षेत्रमा तीन सय अवैध संरचना भत्काउनु पर्ने सूचिमा परेका छन् ।

यसअघि सोमबारबार मात्रै महानगरले नयाँ बसपार्कस्थित मित्रनगर टोल सुधार समितिदेखि दूरसञ्चार कार्यालयसम्म दायाँ–बायाँ निर्माण भएका अनधिकृत संरचना हटाएको थियो ।

यस्तै गोंगबु बसपार्क क्षेत्रमा रहेका सुरुङजस्ता कोठामा सञ्चालित दोहोरी साँझ र भट्टी पसल हटाएको छ । प्रहरीले यस्ता तीनवटा दोहोरी साँझ हटाएको जनाएको छ । केही भट्टी पसलहरू पनि भत्काएको छ । अन्य पक्की भवनको भूमिगत तलामा सञ्चालित पाँचवटा होटेल तथा दोहोरी साँझ पनि हटाइएको छ ।

अहिलेसम्म नगर प्रहरीले यसअघि कोटेश्वर, दरबारमार्ग, न्युरोड, सुन्धारा, बुद्धनगर, टेकुलगायत क्षेत्रमा सात सयभन्दा बढी संरचना भत्काइसकेको छ  ।