देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिगामी गठबन्धन बनाउँदै ओली

देशान्तर

काठमाडौं – एमाले महासचिव शंकर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले अन्य राजनीतिक दलसँग चुनावी तालमेल नगर्ने र आफ्नै खुट्टामा उभिएर प्रतिस्पर्धा गर्ने बताइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली भने पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिन वार्तामा जुटेका थिए । मुलुकको राजनीतिक परिवर्तनको पक्षमा सक्रिय रहेका राजनीतिक दलहरूको साथ नपाएपछि पूर्वपञ्चहरूको पश्चागामी पार्टी राप्रपासँग एमालेले चुनावी तालमेल गर्ने सहमति गरेको छ । एक दर्जनभन्दा बढी प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा राप्रपा उम्मेदवारलाई सहयोग गर्दै बाँकीमा उनीहरूको साथ लिने गरी तयारी भएको छ ।

नेपाली कांग्रेस नेतृत्वमा परिवर्तनकारी सबै शक्तिगोलबद्ध भएपछि एमाले राप्रपाको साथ लिएर केही स्थानमा निर्वाचन जित्ने रणनीतिमा पुगेको छ । राप्रपालाई काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, रूपन्देही, बाँके, झापासहितकाका जिल्लामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको सिट छाड्न एमाले तयार भएको छ । राप्रपाको साथ नपाउँदा आगामी निर्वाचनमा झापाबाट अध्यक्ष ओली नै निर्वाचित हुने सम्भावना छैन ।

२०६२÷०६३ को प्रमुख राजनीतिक दलका शीर्ष नेता गणतन्त्र स्थापनाका लागि सडक आन्दोलनमा रहेका बेला राप्रपाका नेताहरू जस्तै बयलगाढा चढेर अमेरिका नपुगिने भन्दै ओलीले गणतन्त्रको खिलापमा उत्रिएका थिए । अहिले फेरि तिनै परिवर्तन विरोधी शक्तिलाई साथ लिएर ओली आफ्नो स्थान रक्षा गर्ने रणनीतिमा पुगेका छन् । राजतन्त्र स्थापनाको पक्षमा रहेको राप्रपालाई संघीयता र धर्मनिरपेक्षताको विपक्षमा आफूलाई प्रस्तुत गरेर एमाले साथ दिंदै आएको छ । संविधानसभाबाट संविधान लेख्ने नेपाली जनताको ७० वर्ष लामो चाहना पुरा भए पनि त्यसलाई उल्ट्याउन राप्रपा जस्तै एमाले पनि सक्रिय छ । तर ओलीकै क्षेत्रमा भने राप्रपा एमालेसँग नजिक छैन । दमक नगरपालिकाको प्रमुख जित्दा राप्रपाका राम थापाले गठबन्धनको बलियो साथ पाएका थिए । उनी आसन्न चुनावमा गठबन्धनलाई धोका दिने पक्षमा छैनन् । राप्रपाले वडामा पाएको मत गठबन्धनमा जोड्ने हो भने एमालेको भन्दा १,५३२ बढी हुनेछ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतबाट विजयी भएका र यो चुनावमा एमालेले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका ओलीका लागि यो सुखद हिसाब होइन ।

त्यो बेला ओलीभन्दा लिङ्देनलाई यो सहकार्य आवश्यक थियो । किनकि झापा ५ मा चुनाव जित्न ओलीका लागि वाम गठबन्धन काफी थियो, तर लोकप्रिय भोटसहित सांसद निर्वाचित हुन चाहेका ओलीले सहकार्यको हात बढाए । लिङ्देनले पनि झापा ३ मा पनि एमालेकै सहयोगमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरे । दमक नगरपालिकामा एमालेको बहुमत छ । त्यही आधारमा एमालेका वडा अध्यक्षहरूले आफूलाई अप्ठ्यारोमा पारिरहेको मेयर थापाको गुनासो गर्दै आएका छन् । त्यस क्षेत्रमा थापा निर्णयक हुने देखिएका छन्।

भित्रभित्र राप्रपासँग चुनावी तालमेलका लागि सहमति गरिसकेको एमालेले बाहिर भने एक्लै निर्वाचन प्रतिस्पर्धा गर्ने दाबी गर्दै आएको छ । प्रतिगामी र पश्चिगामी शक्तिलाई स्थानीय चुनावमा पनि साथ लिएर हिँडेको एमालेको आगामी चुनावमा पनि एक मात्र सहारा उनीहरू नै बन्ने भएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको घोषणासँगै सत्ता गठबन्धनमा रहेका दलहरू मिलेर अघि बढ्ने निर्णयमा पुगेपछि अत्तालिएको उसले सरकार र त्यसमा रहेका राजनीतिक दलविरुद्ध जथाभावी बोल्न सुरु गरेको छ । हुन त तथ्यभन्दा जहाँ जे मनलाग्यो त्यही कुरा गरेर जनतालाई भ्रमित गर्दै आएको उसले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको सम्भावित परिणामलाई लिएर अहिलेदेखि नै अत्तालिएको देखिन्छ ।

निकटहरूलाई विभिन्न शक्ति केन्द्रमा पठाउँदा पनि कुनै सिप नलागेपछि ओली फेरि पनि स्थानीय निर्वाचनमा जस्तै परिवर्तनविरोधी विभिन्न समूहहरूको साथ लिएर निर्वाचन प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । अझै पनि चुनावी तालमेलका लागि हुने सिट बाँडफाँटबाट असन्तुष्ट भएर गठबन्धनमा रहेका कुनै दल आफूसँग मिल्न आउँछन् कि भन्ने झिनो आशामा रहेका ओली देखिन्छन् ।