काठमाडौं – रुकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौलापीडित थिइन् । दुवै मिर्गौला फेल भएपछि उनी नियमित डायलायसिस गर्दै आएकी थिइन। केही समय काठमाडौँमा डायलायसिस गरेपछि दाङको लमहीमा डायलायसिसका लागि पुगिन्।
छोरीको घर तुलसीपुर भएकाले तुलसीपुर ल्याउनका लागि पहल भयो । सोहीअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विसं २०७८ साउन १२ गते नाम दर्ता भयो । तर त्यो नाम दर्तामा मात्रै सीमित भयो । उनलाई तुलसीपुर लान सकिएन । उनको लमहीमा उपचारकै क्रममा मृत्यु भयो ।
त्यस्तै रोल्पा त्रिवेणी गाउँपालिका–२ निवासी २४ वर्षीय टोपेन्द्र बुढामगरले पनि तुलसीपुरमा आएर डायलायसिस गर्नका लागि नाम दर्ता गराए। विसं २०७८ असारमा नाम दर्ता गराए पनि अहिलेसम्म उनले पालो पाउन अएको छैन। उनले अहिले काठमाडौँमा उपचार गराइरहेका छन् । उनले मासिक रु छ हजारको कोठा भाडा लिएर बसेका छन् भने आवतजावत गर्दा पनि निकै खर्च हुने गरेको छ। अहिलेसम्म रु १० लाखभन्दा बढी खर्च भइसकेको छ । खर्च कम गर्न तुलसीपुर जान खोजेको भए पनि तुलसीपुरमा शय्या खाली हुनसकेको अवस्था छैन ।
त्यस्तै शान्तिनगर गाउँपालिका दाङ निवासी २२ वर्षीय प्रताप चौधरी पनि तुलसीपुर जानका लागि २०७८ साउनमै नाम दर्ता गराए। उनले पनि पालो पाउन सकेका छैनन्। अहिले उनको लमहीस्थित डायलायसिस सेन्टरमा उपचार भइरहेको छ । पायक पर्ने ठाउँबाट सेवा पाउन धेरै सङ्घर्ष गर्नुपर्छ । सल्यान शारदा नगरपालिका–७ कजेरी निवासी गीता खड्का यसअघि लमहीस्थित डायलायसिस सेन्टरमा थिइन् । त्यसपछि घरभन्दा अलि नजिक र सहज हुन्छ भनी तुलसीपुरमा जान खोजिन्, तर एक महिनापछि मात्रै प्रादेशिक अस्पताल तुलसीपुरको डायलायसिसमा पालो आयो ।
त्यस्तै सल्यानकै मस्तबहादुर खड्काले पनि पाँच महिनापछि मात्रै प्रादेशिक अस्पतालमा पालो पाए। त्यसभन्दा अघि उनी काठमाडौँमा डायलायसिस गर्दै आएका थिए। आउँदा–जाँदा तथा काठमाडौँ बस्दा महँगो खर्च हुने भएकाले तुलसीपुरमा सस्तो पर्ने हुँदा उनी त्यहाँ जान खोजेका थिए । मिर्गौलाको उपचारकै क्रममा रु १२–१५ लाख खर्च भएकाले अब जति सक्यो कम खर्च गर्न घरदेखि नजिकै भए सहज हुने उनको भनाइ थियो ।
यस्तै धेरै मिर्गौलापीडितले आफ्नो पायक पर्ने ठाउँबाट सेवा लिन पाएका छैनन् । राप्ती प्रादेशिक अस्पतालमा पाँचवटा मात्र डायलायसिस मेसिन चालु अवस्थामा छन् । त्यसले २३ जनालाई मात्रै सेवा दिन सक्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनअघि मात्रै आठवटा मेसिन पठाएको छ । तर त्यो जडान हुनसकेको छैन ।
जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलायसिस प्रमुख लीना बडेलले बताइन। “अहिले हामीसँग पाँचवटा मात्रै मेसिन चलिरहेका छन्, त्यसबाट २३ जनालाई मात्रै सेवा दिन सकिएको छ”, उनले भने, “अब थप आएका आठवटा मेसिन जडान भएपछि ६० जनालाई सेवा दिन सकिन्छ ।” अहिले प्रादेशिक अस्पतालमा ८० बिरामी पालो कुरिरहेका छन् ।
कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको उनले बताइन्। अहिले चार स्टाफ नर्समात्रै भएकाले यसमा थप हुनुपर्ने उनको भनाइ छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि अहिले पाँचवटा बेडमात्रै छन् । जसबाट २५ जनालाई सेवा दिन सकिएको छ । मन्त्रालयले केही दिनअघि मात्रै १० वटा डाययलायसिस मेसिन पठाएकाले त्यो जडान भएपछि भने सहज हुने प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए। उनका अनुसार अहिले ४० जनासम्म डायलायसिसको प्रतिक्षामा रहेको भन्दै नयाँ आएका मेसिन जडान भएपछि भने सबैले सहज सेवा पाउने उनको भनाइ छ ।
त्यस्तै लमहीमा पनि अहिले करिब ८० जना डायलाइसिसको प्रतिक्षामा छन् । अहिले २४ जनाको डायलायसिस गरिएको छ । ठाउँ पनि आवश्यक पर्ने भएकाले थप मेसिन ल्याउन नसकिएको चिकित्सक डा. अबदुस बुथ खानले बताए। लमहीमा रोटरी क्लब अफ लमही र गौतमबुद्ध मुटुरोग अस्पतालले उक्त डायलायसिस सेन्टर सञ्चालनमा ल्याएका हुन् ।





प्रतिक्रिया