देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

निर्वाचन आयोगले असोज ६ गतेदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्दै

देशान्तर

काठमाडौँ – आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक मतदान केन्द्रबाट मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने भएको छ । नामावली दर्ता यही असोज ६ देखि ८ गतेसम्म गर्न सकिनेछ ।

अहिले मतदाता नामावली रहेको मतदान केन्द्रमा जान नभ्याउने तथा चुनावमा खटिनेहरूलाई समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ । यो सुविधा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, चुनावमा खटिने कर्मचारी, थुनुवा र कैदी तथा सरकारको स्वीकृति लिइ सञ्चालित वृद्धाश्रममा रहेका व्यक्तिले पाउने आयोगको सूचनामा उल्लेख छ । अस्थायी नामावलीका लागि ती व्यक्ति रहेको कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा अस्थायी मतदाता नामावली दर्ताका लागि सिफारिस गर्न सक्ने आयोगले जनाएको छ ।

दर्ता भएका व्यक्तिहरूको अस्थायी मतदाता नामावली कात्तिक १ गते प्रकाशन हुनेछ । नामावलीमा त्रुटि भए कात्तिक २ र ३ गते सच्याउन सक्ने र संशोधित नामावली ४ गते प्रकाशन हुने आयोगले जनाएको छ ।

कात्तिक ५ र ६ गते नामावलीमाथि जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिन सकिने र अन्तिम अस्थायी मतदाता नामावली कात्तिक १४ गते प्रकाशन हुने छ ।