देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अपाङ्गता भएका र अशक्त व्यक्तिलाई घरमै कोभिड खोप

देशान्तर

तनहुँ – म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे । पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ ।

क श्रेणीको अपाङ्गता भएका सारुले शुक्रबार आफ्नै घरमा कोभिडविरुद्वको खोप लगाउन पाउँदा खुसीले गद्गद् हुँदै बल्ल हामीजस्ता अपाङ्गता भएका र अशक्त व्यक्तिले स्थानीय सरकारको अनुभूति गर्न पायौँ भने ।

गाउँपालिकाद्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिलाई घरघरमा पुगेर कोभिडविरुद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देवासी खुसी भएका हुन्।

सारुले जस्तै २८ वर्षीय कृष्णबहादुर थापा, सोही ठाउँ बस्ने, वर्ष ३३ का बिहिसरा थापा र २९ वर्षीय नारायणबहादुर हुन्चिङलगायतको घरमा स्वास्थ्यकर्मी पुगेर खोप दिएपछि उनीहरुले राहत महसुस गरेका छन् ।

स्पाइनल इन्जुरीका कारण पूर्णरुपमा शारीरिक अपाङ्गता भई ओछ्यानमा रहनुभएका २९ वर्षीय नारायणबहादुर हुन्चिङले कोभिड खोप र स्वास्थ्य सेवा पाउँदा खुसी हुँदै सामान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई यसैगरी सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

अपाङ्गता भएका व्यक्ति वडा र पालिकामा आउन नसक्ने र घुम्ती शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले निजहरुको घर–घरमा नै गएर खोप लगाइदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। एकीकृत घुम्ती सेवामार्फत घर–घर र टोल–टोलमा पुगेर सेवा दिँदा म्याग्देवासीमा खुसी छाएको उनले बताए।

चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हुँदा कोभिड १९ विरुद्ध वयस्क फाइजर खोप दुई सय ६७ ले लगाएकामा १७ जनाले पहिलो मात्रा, १८ जनाले दोस्रो मात्रा र दुई सय ३२ ले तेस्रो (बुस्टर) मात्रा खोप लगाएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताए।

वडा नं १ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं २ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिहीसमेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भइसकेको छ । उक्त शिविर यही असोज २ देखि ३१ गतेसम्म चल्ने गाउँपालिका कार्यालयले जनाएको छ ।