देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्यटकलाई लक्षित गर्दै ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा

देशान्तर

काठमाडौं – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पर्यटकलाई लक्षित गरी ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा आएको छ। बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले करिब रु ३५ करोड लगानीमा सो होटल सञ्चालनमा ल्याएका हुन्।

करिब आठ रोपनी क्षेत्रफलमा तीन वर्ष लगाएर छ तलाको भवन निर्माण गरिएको हो। घटस्थापनादेखि औपचारिकरूपमा होटल सञ्चालनमा आएको सो होटलमा ५७ कोठा छन्। होटलमा एकैपटक झण्डै दुई सय जनालाई राख्न सकिने सञ्चालक हमाल बताउँछन्। “आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याएका हौँ”, उनले भने। होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

लगानी, पूर्वाधार र क्षमताको हिसाबले उक्त होटल धवलागिरि क्षेत्रकै ठूलो भएको तातोपानी टोल सुधार समितिका सचिव एवं पर्यटन व्यवसायी अमृतमान शेरचनले बताए। “म्याग्दी हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि स्तरीय होटल आवश्यक छ”, उनले भने। सो होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारका साना–ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सकिनेछ ।