देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्ता गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक छ : गृहमन्त्री खाँण

देशान्तर

काठमाडौं – गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत दिन आम मतदातालाई आग्रह गरेका छन् ।

गृहमन्त्री खाँणले नागरिकताबिहीन नेपाली नागरिकहरुलाई नागरिकता दिन संविधान संशोधन गर्नुपर्ने भएकाले पनि सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत आवश्यक रहेको जिकिरसमेत गरे ।

मंगलबार काठमाडौंमा आयोजित गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभामा बोल्दै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरित गएर नागरिकता विधेयक प्रमाणिकरण नगरेका कारण गैर आवासीय नेपालीहरुलाई पनि नागरिकता दिने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न नसकिएको उल्लेख गरे । गृहमन्त्री खाँणले राष्ट्रपतिको सो गैर संवैधानिक कामको बिरोध गरेर सो नागरिकता विधेयक प्रमाणिकरणका लागि दबाब दिनपनि गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे।

गृहमन्त्री खाँणले नेपालमा लगानी भित्र्याउन पनि गैरआवासीय नेपालीहरुलाई आह्वान गरे । गैर आवासीय नेपालीहरुको लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकारले लिने उनले बताए। गृहमन्त्री खाँणले विदेशमा रहेका हरेक नेपालीहरुको लगानीको स्वागत गर्ने, प्रोत्साहन गर्ने र त्यसको सुरक्षाको सुनिश्चितता गर्ने काम सरकारको रहेको पनि पटकपटक दोहोर्‍याए ।

गृहमन्त्री खाँणले सरकारले गैर आवासीय नेपालीहरुको लगानीको सुरक्षाका लागि सुरक्षाकर्मीहरुको आवश्यक परिचालनको व्यवस्था मिलाउने आश्वासनसमेत दिए ।