देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पर्यटन प्रवदद्र्धनका लागि हेलम्बुमा पदमार्ग निर्माण

देशान्तर

काठमाडौं – सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ। विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन्।

पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ। नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ। पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणलाई गति दिइएको छ। पर्यटन विभागले स्थानीय तहको समन्वयमा रु दुई करोड लागतमा हेलम्बु, सिमीसिदाङ हुँदै लाङ्टाङ पुगिने ३० किलोमिटर पदमार्ग र गाञ्जालापास हुँदै रसुवाको लाङ्टाङ पुगिने ४० किलोमिटर बाटो निर्माण गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।

लाङ्टाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन्। हेलम्बुको कुटुङ्साङ, ठाडेपानी, गोसाइँकुण्ड, रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा भए पनि चलिरहेको छ। शेर्पाले भने, “हेलम्बु हुँदै लाङ्टाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण गरिएको हो ।” उनले सिन्धुपाल्चोक र रसुवाको पर्यटन प्रवद्र्धनका लागि हेलम्बु सेतु बन्ने विश्वास व्यक्त गरे। ह्योल्मोभूमि र धार्मिकस्थलका रूपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पदमार्ग निर्माण गरिएको हो। योजनाअनुसार हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य छ।

पहिले चलनचल्तीमा रहेका पदमार्ग भूकम्पले क्षति पुर्‍याएको थियो। भत्किएका पदमार्ग हुँदै गन्तव्यसम्म पुग्नका लागि पर्यटकले कष्टकर यात्रा गर्नुपर्ने भएकाले क्षतिग्रस्त भएकालाई पनि मर्मत गरिएको हो । झण्डै एक सय किलोमिटर दूरीमा रहेको काठमाडौँको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमा गाउँ कुटुङ्साङबाट ठाडेपानी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङगुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले चलिरहेको स्थानीय गोपाल लामा बताउँछन् ।

“पुराना पदमार्ग मेटिन लागिसकेको थियो, अहिले हेलम्बु गाउँपालिकाको समन्वयमा पदमार्ग निर्माणले तीव्रता पाएपछि पर्यटक आउने क्रम बढेको छ”, उनले भने। प्राचीन गुम्बैगुम्बाको सहर शेर्माथान, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्चीघ्याङ, घ्याङ्गुल, झिचेन मिलेरेपा गुफा, ढुकु, महागुरू रेन्पोछे छापसम्म पदमार्ग बनाउँदै लगिएको छ ।