देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धनुषामा प्रतिनिधिसभामा छ जना र प्रदेशसभामा १० जना महिला उम्मेदवार

देशान्तर

काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता न्यून देखिएको छ ।

प्रतिनिधिसभातर्फ धनुषाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका एक सय तीन जनाले मध्ये धनुषा क्षेत्र नं ३ मा नेकपा एमालेकी नेत्री जुली महतोसहित छ जना मात्र महिला उम्मेदवारी रहेका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत रहेको धनुषा क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा नेकपा एमाले–जसपा गठबन्धनबाट एमाले नेत्री महतो, नेपाल जनता पार्टीबाट पुनम चौधरी र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालबाट प्रविणाकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराउनुुभएको क्षेत्र नं ३ का निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उक्त क्षेत्रमा ज्योतिकुमारी साह, पूजा साह र मिलनकुमारी साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्याकुरेलले बताए । त्यस्तै धनुषामा रहेको आठ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एक सय ३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको सङ्ख्या १० जना मात्र रहेका छन् ।

प्रदेशसभातर्फ धनुषा क्षेत्र नं १ क र क्षेत्र नं १ ख मा १४/१४ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवार सङ्ख्या शून्य छ । प्रदेशसभा धनुषा क्षेत्र नं २ क मा १४ जना र क्षेत्र नं २ ख मा १७ जना उम्मेदवारी दर्ता गराउँदा सबै पुरुष उम्मेदवार नै छ। धनुषाको क्षेत्र नं ३ क मा पुनमदेवीदास तत्माले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा क्षेत्र नं ३ ख मा प्रदेशसभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । जसमा पाँच जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । किरणदेवी साह, पवनदेवी साह, बबिता कुमारी, मिनाक्षी पाण्डे र सीता कुमारीले सो क्षेत्रमा प्रदेशसभा सदस्य पदका उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा तर्फ धनुषा क्षेत्र नं ४ क मा १९ जनाले उम्मेदारी दिँदा तीन जना महिलाले उम्मेदवारी दिएका छन् । त्यहाँ नेपाल लोकतान्त्रिक पार्टीबाट आशादेवी साह, जनमत पार्टीबाट मिथलेशदेवी साह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मीराकुमारी यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा क्षेत्र नं ४ ख मा १३ जनाले उम्मेदवारी दर्ता गराउँदा जनता प्रगतिशील पार्टी नेपालबाट शोभा कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । गत असोज २३ गते प्रतिनिधिसभा सदस्यका लागि धनुषामा ६६ जना स्वतन्त्र गरी एक सय तीन जना र प्रदेशसभाका लागि ७७ स्वतन्त्र गरी एक सय ३८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

संविधान, ऐन र कानुनले महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरिए पनि महिलालाई उम्मेदवार बनाउन राजनीति दलले नरुचाएका कारण यस्तो अवस्था देखिएको महिला अधिकारकर्मी तथा कानुन व्यवसायी पार्वती चौधरीले बताए ।

आगामी निर्वाचनका लागि धनुषामा एक लाख ९३ हजार एक सय चार महिला र दुई लाख १६ हजार आठ सय ७५ पुरुष तथा अन्य ६ जना गरी कूल चार लाख नौ हजार नौ सय ८५ मतदाता कायम रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।