देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बर्खास्तीमा परेका न्यायाधीश श्यामसुन्दर अधिकारी रिट लिएर सर्वोच्चमा

देशान्तर

काठमाडौँ – न्याय परिषद्को सिफारिसमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बर्खास्ती गरेका तत्कालीन जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।

गत भदौ १५ गते न्याय परिषद्को बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई बर्खास्तीका लागि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश कार्कीले अधिकारीलाई बर्खास्त गरेका थिए ।

पटकपटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब आचरण देखिएको भन्दै अधिकारीविरुद्ध न्याय परिषद्मा उजुरी परेको थियो । बर्खास्तीको केही समयअगाडि गरेको एक फैसलामा समेत मोलाहिजा भएको भन्दै उनलाई सर्वोच्च अदालत काजमा तानिएको थियो ।

अधिकारीले तराईको एक जिल्लामा रहँदा पनि आर्थिक लेनदेन गरेर फैसला गरेको उजुरी परेको थियो । उक्त उजुरीमाथि छानबिन हुँदा न्यायाधीश अधिकारीले आर्थिक लेनदेन गरेको पुष्टि भई न्यायपरिषद्समक्ष बर्खास्तीका लागि सिफारिस समेत भएको थियो । न्यायाधीश सपना प्रधान मल्लको छानबिन समितिले अधिकारीलाई बर्खास्त गर्नुपर्ने भन्दै प्रतिवेदन दिएको थियो । तर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीश अधिकारीलाई परिषद्कै बैठकमा माफी मगाएर सफाइ दिएका थिए ।

तर त्यसपछि पनि अधिकारीको बानी नसुध्रिएको र फैसलामा मोलाहिजा भएको पाइएपछि उनलाई बर्खास्त गरिएको एक न्यायपरिषद् सदस्यले बताएका थिए । तर बर्खास्तीको डेढ महिनापछि अधिकारी पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । भदौ १५ गते बर्खास्तीमा परेका अधिकारीले असोज २७ गते सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

शुक्रबार उनको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ ।