देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पत्रकारको राष्ट्र प्रतिको जिम्मेवारी छुट्टै हुन्छ : स्वतन्त्र लेखक अधिकारी

देशान्तर

काठमाडौं । नेपाली पत्रकारिताको क्षेत्रमा कोमलनाथ अधिकारी (कमल) को परिचय खोज्न धेरै गहिरिनुपर्दैन । उनि एक स्वतन्त्र लेखक तथा वरिष्ठ पत्रकार हुन् ।

चितवन जिल्लाको माडीमा जन्मिएका अधिकारीसँग अढाई दशकभन्दा बढी विभिन्न छापा तथा विद्युतीय सञ्चारमाध्यममा काम गरेको अनुभव छ ।

हाल जापानमा रहेर पनि लेखनमा उत्तिकै सक्रिय उनका आमसञ्चार र पत्रकारितासम्वन्धी पुस्तकसमेत प्रकाशित छन् । प्रस्तुत छ– नेपाली पत्रकारिताको वर्तमान अवस्थालगायत विषयमाकेन्द्रित रहेर उनै अधिकारीसँग गरिएको कुराकानी :

स्वतन्त्र लेखन नै किन रोज्नुभयो ?
झट्ट सुन्दा स्वतन्त्र पत्रकारिता र स्वतन्त्र लेखन उस्ताउस्तै लाग्छ । तर, त्यो होइन । अपवादवाहेक पत्रकारितामा स्वतन्त्र भनिए पनि अघोषित रूपमा कसै न कसैको स्वार्थ र निर्देशअनुरुप चल्नुपर्ने हुन्छ ।

त्यसो नभए कि आफूले लेखेको समाचार वा विचार छापिँदैन/बज्दैन कि त जागिरबाट हात धुनुपर्छ । स्वतन्त्र लेखनको हकमा यो लागू हुँदैन, कसैको परिधिभित्र बस्नु पर्दैन, पाठक/दर्शकले मन पराइदिए पुग्छ ।

फेरि, स्वतन्त्र भन्ने शब्द आफैंमा स्तरीय छ । जसरी अदालतले स्वतन्त्र भएर न्याय/अन्याय छुट्याउँछ– त्यसरी नै तटस्थ रहने व्यक्तिले अन्याय गर्ने व्यक्ति, समूह वा संस्थामाथि खबरदारी गर्छ । यही बुझेर म स्वतन्त्र लेखनतर्फ लागेको हुँ ।

तपाईंको बुझाइमा स्वतन्त्र पत्रकार/लेखकको राष्ट्रप्रति कस्तो जिम्मेवारी रहन्छ ?
स्वतन्त्र लेखक–पत्रकारको राष्ट्रप्रतिको जिम्मेवारी धेरै हुन्छ । अनुकूल–प्रतिकूलबीच आफूलाई सम्हाल्दै नयाँ चेतना विकास, विस्तार गर्नुपर्छ हामीले । लेखनकलाको अन्तिम उचाइ कहीँ हुँदैन ।

सगरमाथाजस्तो स्थिर हुँदैन यो– जहाँ चढेपछि लक्ष्य पूरा होस् । पत्रकार/लेखक सदा असन्तुष्ट र अतृप्त हुन्छ । सर्वप्रथम त स्वतन्त्र लेखन कलात्मक हुनुपर्छ । शब्द, वाक्य, विचार अनि कुनै दर्शनले पनि तानोस् । कुनै नवीनतम दृष्टिकोणले तानोस् ।

राजनीतिक दहमा हिलो–पानी छ्याप्नेजस्तो कुरा होइन लेखन । यो त सङ्लो, निर्मल र पारदर्शी हुनुपर्छ । लेखक निर्भीक र सत्यपथ चिन्ने हुनुपर्छ ।

तपाईंको यस्तो प्रेरणाको मुल स्रोत के हो ?
एउटा शब्द छ अन्तर्प्रेरणा– त्यो आफैँभित्र हुन्छ । अन्तर्प्रेरणामा एउटा बत्ती बल्छ । कुनैबेला कुनै परिस्थिति वा परिवेशले झिल्का पर्दा त्यसले छुन्छ । त्यसलाई व्यक्त गर्ने मन हुन्छ । थालेपछि आफैं बाटो पत्ता लाग्दै जान्छ । तर, विभिन्न समाचार, व्यक्तिको लेख–विचार, राम्रा पुस्तक नपढी, ठूला स्रष्टा आदर्श नमानी आफूभित्रको बिर्काे खुल्दैन । मेरो हकमा लेखन विषय छाने पनि लेख्ने समय तोक्दिनँ ।

समय खालि भयो कि एकपल अरु काममा खर्चिन्नँ, लेख्छु वा पढ्छु । लेख्ने उत्तम समयचाहिँ सन्ध्या, रात्रि र बिहान हो । त्यसबेला ध्यान केन्द्रित हुन्छ– जब मन एकाग्र हुन्छ । भाषा र विचार पनि राति नै फुल्छ । राति धेरै विचार फाल हानेर आउँछन्– जुन दिनभरि लुकेका हुन्छन् उल्लूजस्तै ।

लेखन कार्य अहिले कुन गतिमा अगाडि बढिरहेको छ ?
म जापानमा रहेर पनि पत्रकारिता गरिरहेको छु । मैले नेपालका विभिन्न सञ्चारमाध्यममा स्वतन्त्र ढंगले समाचार, विचार, विश्लेषण आदि सम्प्रेषण अर्दै आइरहेको छु । साथै मेरो आमसञ्चार र पत्रकारितासम्वन्धी पुस्तकहरू पनि आएका छन् ।

नेपालको वर्तमान पत्रकारितालाई कसरी मुल्यांकन गर्नुहुन्छ ?
बाहिरी मुलुकको तुलनामा नेपाली पत्रकारिता रोगी छ । गैरपत्रकारहरूको बिगबिगी नै छ । यहाँको पत्रकारितामा राजनीति हावी छ । पत्रकारिता पेसाप्रति सबैभन्दा चुनौती तिनैबाट देखिन्छ, जो पत्रकार भनिन्छन् ।

तर, पत्रकारिता गर्दैनन् । कतिपयमा गुण र लक्षण रत्तिभर देखिन्न, तर गलामा सूचना विभागको ‘प्रेस कार्ड’देखि गाडीसम्म ‘प्रेस’समेत प्रस्टै देख्न पाइन्छ । पत्रकारिता राजनीतिक पक्षधरता तथा स्वार्थबाट निरपेक्ष र स्वतन्त्र पेसा हो ।

पत्रकारिताबाट राजनीति, कूटनीति वा प्राज्ञिक क्षेत्रमा प्रवेश गर्न नसकिने होइन । तर, पत्रकारिता पेसामा छउन्जेल वैचारिक पक्षधरता प्रदर्शन गरेर पेसाको दोहोलो काडिँदैन ।

पत्रकारिताका आदर्श र आचारसंहिता पालना गर्ने मिडिया तथा मिडियाकर्मी नभएका होइनन् । तर, ती सीमित छन् । हुन त दलीय पत्रकार र पत्रकारिता ००७ साल आसपासतिरै सुरु भएको हो । ०१४ सालमा प्रेस आयोग गठनका वेला पनि यो विषय उठेको थियो ।

जनमत संग्रहका वेला सञ्चारकर्मीहरू खुलेरै राजनीतिक पक्षधरतामा उत्रिए, जसलाई मिसन पत्रकारिता भनियो । ०४६ र ०६२/६३ का जनआन्दोलनमा पनि यो प्रवृत्ति दोहोरियो । जनआन्दोलनमा प्रेसको सहयोगी भूमिकाका कारण आचार संहितामा समेत पत्रकारले प्रजातन्त्रको रक्षार्थ काम गर्नुपर्ने बुँदा समेटिएको छ ।

व्यवहारमा चाहिँ पत्रकारिताको आवरणमा राजनीति र दलीय चाकरी गर्ने प्रवृत्ति बढ्दो छ । दलीय पत्रकारिता यतिसम्म झाँगिएको छ कि तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा सयौँ पत्रकारहरू प्रम निवास बालुवाटारमा पार्टीको शपथ खान पुगे ।

यस्तै हालै स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा सत्तारुढ दलनिकट प्रेस संगठनले वाम–लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न आमजनतालाई आह्वान नै गर्‍यो ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन र प्रेस मञ्च नेपालका अध्यक्ष तथा प्रगतिशील पत्रकार संघका सचिवद्वारा निर्वाचनको ६ दिनअघि २०७९ वैशाख २४ मा मतदाताका नाममा जारी संयुक्त अपिलमा ‘हाम्रो सानो भुलले देश फेरि द्वन्द्व र अस्थिरताको भुमरीमा जान सक्छ’ भनेर चेतावनी नै दिइयो ।

सरी पनि पत्रकारिता हुन्छ ? यसो भएपछि समग्र पत्रकार तथा पत्रकारिता पेसाकै निष्ठा र निष्पक्षतामाथि प्रश्न उठ्छ ।
यस्तो प्रवृत्ति–विकृतिको समाधान के त ?
पत्रकारिता पेसामा मौलाउँदो गैरपत्रकारितालाई अन्त्य गरी मर्यादित र निष्कलंक बनाउने जिम्मा पत्रकार र यससँग सम्बन्धित सरोकारवालाकै हो ।

यस्ता गतिविधि निरुत्साहनको प्रथम पाइला भनेकै पत्रकारका नाममा खुलेका दलीय भ्रातृसंगठनहरू खारेज गर्नुपर्छ । पेसागत हित प्रवद्र्धनका लागि एउटा स्वतन्त्र ट्रेड युनियन बनाउन सकिन्छ ।

कसैले अनलाइन खोलेर आचार संहिता र निष्पक्ष पत्रकारिताको बर्खिलाप हुने गरी सूचना सामग्री प्रवाह गर्छ भने त्यसलाई बढीमा अभिव्यक्ति स्वतन्त्रताका रूपमासम्म हेर्न सकिएला तर प्रेस स्वतन्त्रता मान्न सकिन्न । तिनले प्रेस स्वतन्त्रताको अधिकार र उन्मुक्ति पनि पाउँदैनन् ।

प्रस्तुतिः कालिका महत