काठमाडौं – वाम लोकतान्त्रिक गठबन्धन काठमाडौं क्षेत्र नं २ ले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सात हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
आज आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति कुविर शर्माको संयोजकत्वका निर्वाचन परिचालन समिति गठन गरिएको हो । सो समितिमा गठबन्धन दलमा आवद्ध सबै दलका क्षेत्रीय समिति मातहतका नेता तथा कार्यकर्ता सदस्य हुनुहुन्छ ।
सो निर्वाचन क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधिसभातर्फ पूर्व सभामुख ओनसरी घर्ती उम्मेदवार हुनुहुन्छ। यस्तै प्रदेशसभातर्फ भरतप्रसाद फुयाल र धुव्र केसी उम्मेदवार छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताको उपस्थितीमा उक्त निर्वाचन परिचालन समिति गठन गरिएको हो ।





प्रतिक्रिया