देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उम्मेदवारले आफू राम्रो र अरु नराम्रो भनेर प्रचार गर्न पाइँदैन : आयुक्त भण्डारी

देशान्तर

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो । आइतबार संचारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आचारसंहिता कन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिन भन्दा १७ दिन अगाडीदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए ।

आयुक्त भण्डारीले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रावधानलाई पनि पालना गर्न सचेत गराए । घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नुपनि आचारसंहिता विपरित हुने उनको भनाइ छ । आचारसंहिताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उनले उम्मेदवारहरुलाई आग्रह गरे।

उनले उम्मेदवारहरुले आफू राम्रो र अरु नराम्रो भनि प्रचारप्रसार गर्न नपाइने उल्लेख गरे । उम्मेदवारहरुलाई आफ्नो घोषणापत्र अनुरुप र आफूले गर्ने कामहरुको मात्रै प्रचारप्रसार गर्न उनको सुझाव छ । अरु दल र स्वतन्त्र उम्मेदवारहरु नराम्रो भनि प्रचार गर्न नपाइने उनले उल्लेख गरे । आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहिता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताए ।

आयुक्त भण्डारीले आयोगले हालसम्म दर्जनौं उम्मेदवारहरुलाई स्पष्टिकरण सोधिसकेको जानकारी दिए । स्पष्टिकरण चित्त बुझ्दो नभएमा थप कानूनी कारबाही अगाडी बढाइने, आचारसंहिता पालना गराउने सन्दर्भमा आयोग निर्मम र निर्दयी भएर अघि बढ्ने उनले स्पष्ट पारे ।