काठमाडौँ – विश्व पक्षघात दिवसको अवसरमा पदयात्रा गरिएको छ ।
नेपाल पक्षघात सङ्घ, नेपाल पक्षघात परियोजना, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललगायतका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज बिहान काठमाडौँको महाराजगञ्जदेखि सामाखुसी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको हो ।
पदयात्रापछि आयोजित कार्यक्रममा बोल्दै नेपाल पक्षघात सङ्घका अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिष्ट डा. राजु पौडेलले विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको बताए। “पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ”, डा . पौडेलले भने । विश्वमा हरेक चारमा एकलाई र छ सेकेण्डमा एक जनालाई पक्षाघातको सम्भावना रहेको डा. पौडेलको भनाइ छ ।
उनले नेपाल जस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गरे । नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । डा. पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, निष्क्रिय जीवन पद्दति, असन्तुलित आहार र मुटुको चाल गडबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन सबैलाई आग्रह गरे ।
सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको उनले बताए ।
पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने डा पौडेलको भनाइ छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले पक्षघातको समस्या विश्वव्यापी समस्या भएकाले यसको उपचारका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
पक्षघात भएका बिरामीलाई समयमै उपचार गर्न सके बचाउन सकिने उनको भनाइ थियो ।





प्रतिक्रिया