देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो

देशान्तर

पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ । गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो । यस क्षेत्रमा चार-पाँच ठाउँमा ठूला–ठूला पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध हुँदा निस्दी गाउँपालिकाको कार्यालयमा सेवा लिन रामपुर नगरपालिका हुँदै सवारी साधनमा करिब चार घण्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो । अहिले सडक खुलेपछि धेरै सहज भएको उपभोक्ता समितिका अध्यक्ष मीनबहादुर सोतीले जानकारी दिनुभएको छ ।
करिब एक दशकअघि खुलेको सडक व्यवस्थित तरिकाले स्तरोन्नति नहुँदा पानी परेपछि निस्दी–१ बाकामलाङका वडावासीले गाउँपालिकाको कार्यालयमा पुग्न रामपुर नगरपालिकाको बाटो भएर जानुपर्ने समस्या बर्सेनि झेल्दै आइरहेको चेतन पुलामीको गुनासो छ । नमस्ते रामपुर यातायात प्रालिले बाकामलाङको छपाक्दीसम्म दैनिक जिप सञ्चालन गर्दै आए पनि पहिराका कारण आनन्दीभन्ज्याङसम्म मात्रै सवारी साधन सञ्चालन गर्दै आएको थियो । पहिरो हटाइएपछि गाउँमै सवारी साधनमा आवतजावत गर्न पाउँदा धेरै सहज भएको वडा सदस्य प्रताप सिं थापाले बताउनुभएको छ ।